काठमाडौं - टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा सत्तारूढ नेपाली कांग्रेसका नेता तथा सिन्धुपाल्चोक–२ का सांसद मोहनबहादुर बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ अर्ब २१ करोड रुपैयाँभन्दा बढीको बिगो कायम गर्दै भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी स्वतः प्रतिनिधिसभाबाट निलम्बनमा परेका छन्।

योसँगै हालसम्म प्रतिनिधिसभाबाट निलम्बनमा परेका सांसदहरूको संख्या ४ पुगेको छ। यसमध्ये ३ जना मुद्दा दायरपछि निलम्बनमा परेका छन् भने १ जना फरार अवस्थामा छन्। साथै, एक सांसद भने अदालतको आदेशपछि पुनः प्रतिनिधिसभामा फर्किएका छन्।

निलम्बनमा परेका सांसदहरू:

मोहनबहादुर बस्नेत (कांग्रेस)

मुद्दा: टेरामक्स उपकरण खरिदमा भ्रष्टाचार

स्थिति: अख्तियारको मुद्दापछि स्वतः निलम्बन

टोपबहादुर रायमाझी (नेकपा एमाले)

मुद्दा: नक्कली भुटानी शरणार्थी प्रकरण

स्थिति: दुई वर्षदेखि निलम्बन जारी

रवि लामिछाने (रास्वपा)

मुद्दा: सहकारी ठगी प्रकरण

स्थिती: मुद्दा दायरपछि निलम्बन

गीता बस्नेत (राप्रपा)

मुद्दा: सहकारी ठगी प्रकरण

स्थिति: फरार, पक्राउ पुर्जी जारी, संसद्को काममा सहभागी छैनन्

पुनः संसदमा फर्किएका:

टेकबहादुर गुरुङ (कांग्रेस)

उनी पहिले विशेष अदालतबाट दोषी ठहर भएर निलम्बनमा परेका थिए । तर, सर्वोच्च अदालतको आदेशपछि सफाइ पाएर पुनः संसद्मा फर्किएका छन् । 

प्रतिनिधिसभामा सांसदहरूको नैतिक तथा कानुनी जिम्मेवारीप्रति प्रश्न उठाउने अवस्था सिर्जना भएको छ। निलम्बनमा परिरहेका सांसदहरू उच्च राजनीतिक दलका जिम्मेवार नेता रहेको र उनीहरूमाथि ठुला भ्रष्टाचार तथा ठगी मुद्दा दायर हुनु संसद् र जनप्रतिनिधित्वप्रति जनविश्वास कमजोर पार्ने खालको चिन्ताजनक अवस्था सिर्जना भएको छ।