काठमाडौं- देशभरका ३९ भन्दा बढी द्वन्द्वपीडित संघसंस्था तथा सञ्जालहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला पत्र पठाउँदै संक्रमणकालीन न्याय सम्बन्धी आयोगका पदाधिकारी छनोट प्रक्रिया प्रति गम्भीर आपत्ति जनाएका छन् ।

उनीहरूले हालको छनोट प्रक्रिया अपारदर्शी, अविश्वसनीय र पीडितमैत्री नभएको बताएका छन्। यदि प्रक्रिया सुधारिएन भने आफूहरू नागरिक आयोग गठन गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

पत्रमा पीडितहरूको सहभागिता, संवाद र पारदर्शिताका आधारमा प्रक्रिया अगाडि बढाउन आग्रह गरिएको छ। प्रधानमन्त्रीलाई भेट्ने प्रयास गरे पनि सम्भव नभएकाले खुला पत्रमार्फत सरोकार राखिएको डा. राम भण्डारीले जानकारी दिए ।

पीडितहरूको भनाइमा, राजनीतिक भागबन्डाका आधारमा आयोगमा पदाधिकारी नियुक्त भएमा उनीहरूको न्यायको यात्रालाई अपमानजनक बनाइनेछ। ‘हामी स्वायत्त नागरिक हौं, बलिदानीबाट प्राप्त लोकतन्त्रमा हाम्रो न्यायको खोजी बेवास्ता गर्न मिल्दैन,’ पत्रमा भनिएको छ । सरकारले पीडितसँग संवाद नगरेको गुनासो गर्दै उनीहरूले परामर्शको अवसरसमेत नदिएको बताएका छन् ।

यसअघि पीडितहरूले प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा र माओवादी केन्द्र अध्यक्ष प्रचण्डलाई भेटेर पनि आफ्ना सरोकार राखिसकेका छन्। एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच, र इन्टरनेसनल कमिसन अफ ज्युरिस्ट्सजस्ता अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाहरूले पनि यस प्रक्रियाप्रति प्रश्न उठाइसकेको पत्रमा उल्लेख छ ।