काठमाडौं - रुपन्देहीको शुद्धोधन गाउँपालिका–४ फर्साटिकरमा सञ्चालित लिटिल फ्लावर बोर्डिङ स्कुलको बसमा एक्कासी आगलागी भएको छ। करिब ४० जना विद्यार्थी बोकेर विद्यालयतर्फ जाँदै गरेको बसमा अचानक आगलागी भए पनि सबै विद्यार्थी सकुशल रहेका छन्।
प्रहरीका अनुसार घर–घरबाट विद्यार्थी चढाएर विद्यालय नजिक पुगेकै बेला बसको इञ्जिनबाट एक्कासी धुवाँसहित आगो लागेको हो। आगलागी देखेपछि बस चालक, सहचालक र स्थानीयको सक्रियतामा सबै विद्यार्थीलाई सुरक्षित रूपमा बसबाट बाहिर निकालिएको थियो।
‘आगो लागेपछि तुरुन्तै सबै विद्यार्थीलाई उद्धार गरियो, ’रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले भने , ‘कुनै मानवीय क्षति हुन पाएन।’ विद्यालयको लु १ क १३२६ नम्बरको बस भने पूर्णरूपमा जलेर नष्ट भएको छ। आगलागी नियन्त्रणमा लिन दमकल प्रयोग गरिएको थियो।
घटनाको प्रारम्भिक अनुसन्धान अनुसार बसमा यान्त्रिक खराबीका कारण आगलागी भएको आशंका गरिएको छ। यद्यपि विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


0 comment