प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रिसा साहको मृत्यु प्रकरणमा सरकारलाई सत्यतथ्य पत्ता लगाउन निर्देशन दिएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाएको ध्यानाकर्षणलाई सम्बोधन गर्दै सभामुख घिमिरेले घटनाप्रति सदनको गम्भीर चासो रहेको स्पष्ट पारे। उनले विदेशमा उज्यालो भविष्यको सपना लिएर गएका नेपाली विद्यार्थीहरूको मृत्यु एकपछि अर्को घट्नुले राष्ट्रको संवेदनशीलता र जिम्मेवारीप्रति गम्भीर प्रश्न खडा भएको बताए।

सभामुख घिमिरेले सरकारलाई उक्त घटनाको सत्यतथ्य यथाशिघ्र पत्ता लगाउन, सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक संवाद अघि बढाउन र पीडित परिवारलाई न्यायिक सहयोग पुर्‍याउन रुलिङ गरेका छन्। साथै, उनले विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न आवश्यक नीतिगत तथा व्यवहारिक व्यवस्था मिलाउन पनि सरकारलाई आग्रह गरेका छन्।

‘विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूका लागि सुरक्षित वातावरण सिर्जना गर्नु राज्यको जिम्मेवारी हो,’ सभामुख घिमिरेले भने, ‘यो घटनाले हाम्रो शिक्षा प्रणाली, विदेश अध्ययन नीति र कूटनीतिक सक्रियतालाई समेत पुनर्विचार गर्नुपर्ने अवस्था देखाएको छ।’

घटनाको निष्पक्ष छानबिनका लागि नेपाली कूटनीतिक नियोगमार्फत पहल थालिएको भए पनि सदनको निर्देशनपछि यसमा थप गम्भीरता देखिने अपेक्षा गरिएको छ। विद्यार्थी साहको निधनबारे थप विवरण आउन बाँकी रहेको अवस्थामा संसदबाट आएको निर्देशनले सरकारको सक्रियता बढ्ने संकेत देखिएको छ।