काठमाडौं - नेपाल चिकित्सक संघ र सरकारबीच सहमति भएपछि आवासीय चिकित्सकहरूको आन्दोलन स्थगित भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र संघका प्रतिनिधिबीच शनिबार मन्त्रालयमा भएको छलफलपछि सहमति कायम भएको हो ।
छलफलपछि जारी संयुक्त सहमतिअनुसार, चिकित्सा शिक्षा आयोगको १६औं बैठकले गरेको निर्णयहरू कार्यान्वयन गरिनेछ। म्याचिङ प्रक्रियालाई शीघ्र अघि बढाउन आयोगलाई आवश्यक निर्देशन दिने र बिदा लगायतका विषयहरू समाधान गर्न कार्यदल गठन गरी मन्त्रालयले पहल गर्ने प्रतिबद्धता जनाएको छ ।
स्वास्थ्य मन्त्री पौडेलले सञ्चारकर्मीहरूसँगको कुराकानीमा सरकार चिकित्सकहरूको जायज मागप्रति गम्भीर रहेको बताए। ‘नेपाल चिकित्सक संघसँग भएको सहमति हामी इमान्दारितापूर्वक कार्यान्वयन गर्छौं,’ मन्त्री पौडेलले भने, ‘आयोगका केही निर्णयहरू समयमै कार्यान्वयन नभएका गुनासो थिए, अब ती प्रक्रियाहरू छिटो अघि बढाइनेछ।’ सहमतिपछि आवासीय चिकित्सकहरू अस्पतालमा फर्किन थालेका छन् ।


0 comment