नेपाली कांग्रेसका उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङले भिसा नविकरण, श्रम स्वीकृतिलगायतका सामान्य काममा समेत ढिलाइ हुँदा विदेशमा रहेका नेपालीले दुःख व्यहोर्नुपरिरहेको बताएका छन् ।
नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित ‘प्रवासमा नेपालीः सरकारको दायित्व र जनसम्पर्क समितिहरुको भूमिका’ विषयक अन्तर्क्रियामा गुरुङले त्यसको सहजीकरणका लागि पार्टी केन्द्रीय कार्यालयमा डेस्क स्थापना गर्नुपर्नेमा जोड दिए ।
‘विदेशमा रहेका नेपालीको भिसा नविकरण, श्रम स्वीकृतिलगायतका सामान्य काममा समेत ढिलाइ हुँदा असाधारण क्षति व्यहोर्नुपरेको छ,’उनले भने, ‘पार्टीको केन्द्रीय कार्यालयमा सहजीकरणका लागि डेस्क स्थापना गर्नुपर्छ ।’यस्ता अन्तर्क्रिया र छलफलले भएका समस्यालाई समाधान गर्ने गरि काम गर्न सहयोग पुग्ने गुरुङले विश्वास व्यक्त गरे ।
उनले गैरआवासीय नेपालीलाई परेको समस्या समाधान गर्नेगरी नेपालमा सहजरूपमा काम गर्न सक्नेगरी लगानीमैत्री वातावरण सिर्जना गर्ने गरि छलफल केन्द्रीत भएर पार्टीलाई सुझाव दिन पनि आग्रह गरे ।


0 comment