काठमाडौं—खोटाङ्ग जिल्लाको जन्तेढुङगा गाउँपालिका वडा नं. ५ चिसापानीबाट काठको मुढा बोकेर बङसीलाघाट जाँदै गरेको प्रदेश २—०३—००१ त ८१८८ नम्बरको टयाक्टर सोही जिल्लाको बाह्रपोखरी गाउँपालिका ६ मौवाबोटेमा दुघर्टना ग्रस्त भएको हो । दुघर्टना पछि ट्याक्टरका चालक सहचालक सहयोगीसहित घाइतेलाई तत्काल उद्धार गरी बाह्रपोखरी अस्पताल लगिएको थियो । अस्पताल लाने क्रममा सोहीे पालिका वडा नं.५ हुम्बा पोखरीका टयाक्टरका सहचालक २० वर्षीय रोसन विकको मृत्यु भएको थियो भने टयाक्टर चालक सोही गाउपालिका वडा नं ४ का २२ वर्षीय सुमन दाहाल र टयाक्टरका सहयोगी तेह्रथुम लालीगसँरास २ का १६ वर्षीय रोसन गुरुङ गम्भीर घाइते भएका छन् । 

खोटाङ्ग जिल्ला प्रहरी कार्यालयका प्रमुख डि एस पि प्रतिक विष्टले घाइतेको उपचार धरानको अस्पतालमा भइरहेको र रातको समयमा तीब्र गतिमा रहेको टयाक्टर अनियन्त्रित भई भीरको सडकबाट करिब एक सय मिटर तल झरेको विशाल नेपाल अनलाइन खबरलाई बताउनु भयो । डि एस पि विष्टका अनुसार मृतकको शव चिसापनीस्थित शवघरमा राखिएको र मृतकका आफन्त आई जाहेरी दिएपछि कानुन अनुसार प्रक्रिया अगाडी बढाइनेछ । दुघर्टना किन र कसरी भयो ? तिब्र गतिमा भएको टयाक्टर चालकको अवस्था कस्तो थियो ? लगायतका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको र अनुसन्धानबाट सबै कुरा पत्ता लागेपछि थप जानकारी दिने डि एस पी विष्टले बताउनु भयो । यता मृतक रोसनको पूरै गाउँ शोकमा डुवेको छ । मृतक परिवारका अनुसार करिब छ सात महिनाअघि मात्रै रोसन सो ट्याक्टरमा काम गर्न थालेका थिए । टयाक्टरका धनी धनकुटाको भएको स्रोतले बताएको छ ।