भक्तपुर - ठूलोले जे गरे पनि हुने, सानोलाई मात्रै कानुन लाग्ने भन्दै भक्तपुरको काँक्राबारीका जनताले प्रश्न तेर्साएका छन् । सियो खसेको देख्ने वडा अध्यक्ष अनि नगरपालिकाले तीस बढी डोजर दैनिक चलाउँंदा किन देखेनन् भनी स्थानीयले प्रश्न उठाएका हुन् । भक्तपुरको रोल्पा रुकुम भनेर चिनिने जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं ९ काँक्राबारीमा पूरै क्षेत्रमा झण्डै तीन दर्जन डोजरहरु दिनरात चले पनि उनीहरुमाथि कारबाही नभएको भन्दै स्थानीयले विरोध गरेका हुन् ।
यो ठाउँ सूर्यविनायक नगरपालिका वडा नं ९ (साविक नङखेल गाविस वडा नं । ४ क र ख) काँक्रा वनस्थित घिसिङ डाँडामा रहेको छ । यो आयोजना निक भुजिकिक हाउजिङ कम्पनीले सञ्चालन गरिहेरको हो ।
टाढाबाट हेर्दा कमिला जत्रा देखिने डोजर तथ एक्स्काभेटर चलाएर सामुदायिक भित्री वनको क्षेत्र अतिक्रमण गरेर काम भइरहेको महिनौ बिते पनि कसैले वास्ता नगरेको भन्दै स्थानीयले पत्रकारहरुसँंग हारगुहार मागेका छन् । वन क्षेत्रमा रहेको स्थानीय जनताले प्रयोग गर्दै आएको खानेपानीको मूल तथा पानी पँधेरो, कोलो, बाटो पुर्नुका साथै खानेपानीको पाइपलाइन समेत क्षतविक्षत गरेर स्थानीयलाई खानेपानीबाट वञ्चित गरेको उनीहरुले बताए । आयोजनाले जंगलबाट घासपात ल्याउने बाटो समेत अवरोध भएको स्थानीयले बताए ।
उक्त कम्पनीले डोजर चलाउँदा परम्परादेखि रहँदै आएको खोल्साखोल्सी समेत पुरिएर पानीको निकास समेत थुनिएको हुँदा वर्षामा आउने भेल बाढीले स्थानीयको घरबारी समेत बगाउने खतरा बढ्दो छ । घिसिङ टोलमा आयोजना सञ्चलान गर्दा घिसिङ टोलभन्दा मुनि रहेको लामाटोल अति जोखिममा पर्न गएको छ । आयोजनाले स्थानीय जनताको सहमति विना जबरजस्ती व्यक्तिको जग्गा समेत खनेर व्यक्तिको बसोबास रहेको घरसमेत स्थानान्तरण गर्न बाध्य पारेको जनाइएको छ ।
वन क्षेत्रको जैविक विविधता, पर्यावरण र स्थानीय जनताको जीवनमा समेत गम्भीर असर पर्ने गरी सरकारी र सामुदायिक वन क्षेत्र अतिक्रमण गरेर कम्पनीले प्लटिङ्ग आयोजना सञ्चालन गरेको हुँदा सो आयोजना तत्काल रोक्का गरी वनजंगल र प्राकृतिक पर्यावरण बिगार्ने काममा संलग्न हाउजिङ कम्पनीका डिल्ली बराइली, प्रविण कुस्मा र जग्गाधनी भनिने सुधिरकुमार अधिकारी र यसै स्थानका शंकर तामाङ र हाउजिङ्ग कम्पनीसँगको अवैध प्रतिवद्धतामा वनजंगल अतिक्रमण गर्न सहमति दिने सबैलाई कारवाही गर्न उनीहरुले जिल्ला प्रशामशन कार्यालय भक्तपुर, जिल्ला वन, सूर्यविनायक नगरपालिका, वडा कार्यालयसमेतलाई ज्ञापनपत्र बुझाइसकेको जनाए । तर कसैले पनि केही कदम नचालिदिएको भन्दै स्थानीयले मंगलबार त्यहाँं पुगेका पत्रकारहरुसँंग सहयोगको याचना गरे ।
यसैका लागि स्थानीयले संघर्ष समिति पनि गठन गरेका छन् ।
यो ठाउँं अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको साँंगा झोलुंगे पुलबाट सिधै पहाड माथिको जंगलैजंगलको बाटो भएर दस १२ किलोमिटर माथि पर्दछ । यहाँंको पूरै क्षेत्र जंगलै जंगल रहेका छन् । साथै फाटफुट घरहरु पनि छन् ।
सरोकारवालाहरुले वेवास्ता गरेपछि उनीहरु आफैं आन्दोलनको तयारीमा जुटेका छन् । यहाँं तामाङ वस्ती रहेको छ ।


0 comment