काठमाण्डौं  — सुसाशन र पारदर्शिताक जस्ता शब्दहरूले भरिएको प्रहरी संगठनभित्र अझै पनि पुराना सत्ता-सम्बन्धी खेल, आन्तरिक हस्तक्षेप र नियमविपरीतको व्यवहार कायमै रहेको पुष्टि गर्दै हालै गरिएको प्रहरी सरुवाले फेरि एकपटक विवाद जन्माएको छ।

प्रहरी प्रधान कार्यालयले सोमबार एकैपटक ६३ जना प्रहरी उपरीक्षकहरूको सरुवा गरे पनि सबैभन्दा बढी चर्चा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी राजन लिम्बुको झापा सरुवालाई लिएर भएको छ।

केवल तीन महिनामात्रै चितवनमा कार्यरत लिम्बुलाई मापदण्डविपरीत झापा सरुवा गरिएको हो। प्रहरी सरुवाको आन्तरिक मापदण्डअनुसार एउटै तहको जिल्लामा यति छोटो अवधिमा सरुवा गर्नु अस्वाभाविक मानिन्छ। 

लिम्बु प्रधानमंन्त्री केपी शर्मा ओलीका पूर्व पिएसओ भएको नाताले अवसर पाएका हुन्। शक्तिकेन्द्रको दबाबकै कारण उनलाई ‘क’ वर्गकै चितवनबाट ‘क’ वर्गकै झापा सरुवा गरिएकोमा प्रहरी अधिकारीहरुकोनै असन्तुस्टी देखिएको छ। 

यो सरुवाले  इमानदार र सक्षम अधिकारी हरूलाई बेवास्ता गर्दै  पहुँच भएका प्रहरीलाई प्रहरी मापदण्ड बिपरित मनपरी स्थानमा राख्ने प्रवृत्तिले प्रहरीभित्र निराशा बढाइरहेको छ।

नारा मात्रै लगाएर सुसाशन सम्भव हुँदैन। जब आन्तरिक नियमको पालना हुँदैन, पारदर्शिता गुम्छ, र निर्णयहरू शक्तिकेन्द्रको दबाबमा लिइन्छन्, तब जनताले प्रहरी संगठनमाथि भरोसा गुमाउन थाल्छन्।

यदि यस्ता निर्णयहरूको सार्वजनिक रूपमा उत्तरदायित्वको समीक्षा गरिएन भने, प्रहरीको साख, जनसमर्थन र सेवा गुणस्तरमा दीर्घकालीन असर पर्न सक्ने कुरा नकार्न सकिदैन ।