काठमाडौं - सुर्खेतको कोपिला भ्याली प्रकरणमा सुरु भएको छानबिनलाई प्रभावित बनाउन पूर्व मुख्यमन्त्री एवं कांग्रेस प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले नै सक्रियता देखाएका छन्। उनले सामाजिक सञ्जालमा स्टाट्स लेख्नुका साथै जिल्ला प्रशासन कार्यालयमा अनावश्यक चासो राखी कोपिला भ्याली सेवा समाजमा भएको बेथितिविरुद्धको छानबिन प्रभावित बनाउन सक्रियता देखाएका हुन्। 

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘कोपिला भ्याली स्कुल जसले कर्णालीका निमुखा गरिब अनाथ बच्चाहरूलाई पढाएको छ। उसकाविरुद्ध लागेको देख्दा अचम्म लाग्छ। अब को आउँछ कर्णालीको सेवामा? यसैले त कर्णाली पछि पर्‍यो।’ उनले समाजिक सञ्जालमार्फत कोपिला भ्याली सेवा समाजको विषयमा समाचार लेखेर कर्णाली नै पछाडि पारेको बताएका छन्। 

'मलाई कोपिलाले नराम्रो गरेजस्तो लाग्दैन,' उनले भने, ‘हामी कर्णालीबासीले यहाँ आइएनजीओ नआउन दिने खेल भयो। त्यहाँ बेथिति के छ? मैले पनि त्यस स्कुललाई धेरै हेरेको छु। भाइहरूले पनि कलम छ भन्ने वित्तिकै समाचार लेख्नु हुँदैन। हामी बसेर कमीकमजोरी यस्तो भएको छ भनेर सुधारेर जाँदा राम्रा होला। त्यो स्कुल बन्द भयो भने हामीले ती बालबालिकाहरूलाई पढाउन सक्छौं? हामी एकै ठाँउका मानिस बसेर सल्लाह गर्नुपर्छ।’

गत महिना विभिन्न सञ्चारमाध्यममा कोपिला भ्याली सेवा समाजमा भएको बेथितिका बारेमा समाचार प्रकाशित भएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले उक्त विषयमा छानबिनका लागि समिति गठन गरेको थियो। सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीको संयोजकत्वमा प्रशासन कार्यालयकै प्रशासकीय अधिकृत, जिल्ला शिक्षा विकास तथा समन्वय इकाई सुर्खेत, सामाजिक विकास मन्त्रालय, नगरपालिका शिक्षा शाखा, आन्तरिक राजस्व कार्यालय, श्रम तथा रोजगार कार्यालय, खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालय गरी ८ सदस्य गठित छानबिन समितिले केही दिन अगाडिदेखि छानबिन थालेको छ।