काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौं टावरको नक्सापास प्रक्रिया सम्बन्धी गम्भीर अनियमितता र नीतिगत भ्रष्टाचार भएको आशंका व्यक्त गर्दै ठूला आर्थिक हानि हुने तथ्य सार्वजनिक गरेका छन्। टावरको हालैको १२ तल्लाबाट १९ तल्ला बनाउने प्रयासप्रति आपत्ति जनाउँदै, मेयर शाहले ‘एक अर्बभन्दा धेरै घाटा महानगरलाई कसरी हुनसक्छ?’ भन्ने प्रश्न उठाएका छन्।
२०७३ मा सम्झौता अनुसार १२ तल्लासम्मको टावर निर्माणका लागि महानगरले वार्षिक रुपमा चौथो वर्षसम्म ९८ लाखदेखि ३०औं वर्षसम्म ३ करोड ९० लाखसम्म आम्दानी गर्ने बताइएको थियो। तर, अहिले ७ तल्ला थप गरेर भाडामा आउने सम्भावित आम्दानीलाई नजरअन्दाज गर्दै पुरानै दरमा नक्सापास गरिएको भन्दै उनले आपत्ति जनाएका छन्।
बालेनका अनुसार, ७ तल्ला थप्दा करिब १ लाख २८ हजार वर्गफुट क्षेत्रफल थपिन्छ र प्रतिवर्गफुट १५० रुपैयाँको दरले पनि वार्षिक २३ करोडभन्दा बढी भाडा उठ्न सक्थ्यो। आगामी ३० वर्षमा यो भाडा १ अर्बभन्दा धेरै हुने प्रक्षेपण गरिएको छ।
तर, बिना प्रक्रिया र वैधानिकता नक्सापास गरिएको भन्दै बालेनले ‘सरकारी प्रणाली छलेर, प्रमुख प्रशासकीय अधिकृतलाई समेत जानकारी नदिई, दोस्रो दिनमै नक्सा पास गर्नु पर्ने के कारण थियो?’ भनी प्रश्न उठाएका छन् ।
नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि विशेष आरोप लगाइएको छ। बालेनको भनाइ अनुसार, गुरागाईको आगमनको दोस्रो दिनमै नक्सा पास गरिएको थियो, जुन न त विभागीय प्रमुखलाई जानकारी थियो, न त आधिकारिक प्रणाली प्रयोग गरिएको। बालेनले यसलाई पूर्वनियोजित योजनाअनुसार गरिएको कार्य भनेका छन्।
अघिल्ला प्रमुख प्रशासकीय अधिकृतलाई समयअघि हटाइए पनि गुरागाईलाई सरकारको विशेष आदेशमा राखिएको जस्तो देखिएको भन्दै उनले प्रश्न उठाएका छन् ‘के उहाँलाई विशेष म्यान्डेट दिएर पठाइएको हो?’
उपमेयर सुनीता ढंगोलले वडाध्यक्ष र कर्मचारीहरुको सहयोगमा गुरागाईंलाई कार्यकक्षमा प्रवेश गराएकी थिइन् । काठमाडौं टावर मात्र होइन, सोही दिन नक्सापास गरिएको हिल्टन होटलसमेत अनुसन्धानको दायरामा रहेको बालेनले खुलासा गरेका छन्। यदि कसैले महानगरमा यस्ता अनियमितता देखे जानकारी गराउन मेयर शाहले सर्वसाधारणलाई आह्वान गरेका छन्।


0 comment