काठमाडौं - सडक आन्दोलनमा रहेका शिक्षकहरूले कक्षा १२ को परीक्षा बहिष्कार गर्ने निर्णय गरेका छन्। राष्ट्रिय परीक्षा बोर्डले कर्मचारी खटाएर भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय गरे लगत्तै आन्दोलनरत शिक्षकहरुले बहिष्कार गर्ने घोषणा गरेका हुन् । कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि सुरु हुने तालिका छ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, ‘सरकारले जसरी परीक्षा सञ्चालन गरोस् तर, शिक्षक/प्रधानाध्यापक भने परीक्षामा सामेल हुँदैनन्।’
शिक्षा विधेयक जारी गर्नुपर्ने लगायतका मागसहित उनीहरु २१ दिनदेखि काठमाडौंको सडकमा आन्दोलन गरिरहेका छन् । सरकारले संसद्को बजेट अधिवेशनबाटै शिक्षा विधेयक जारी गर्ने बताए पनि शिक्षकहरूले मानिरहेका छैनन् ।
प्रधानमन्त्रीको दाबाब र शिक्षकहरूको अटेरीपनका कारण शिक्षामन्त्री विद्या भट्टराईले सोमबार पदबाट राजीनामा दिइसकेकी छन्। उनले शिक्षकहरुका मागलाई सम्बोधन गर्नका लागि सात बुँदे प्रस्ताव समेत तयार पारेकी थिइन् । त्यसमा प्रधानमन्त्रीको असहमति रहेको बुझिएको छ ।


0 comment