काठमाडौं - सर्वोच्च अदालतले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र उद्योग विभागबाट सुर्तीजन्य निर्देशिका २०८१ को कार्यान्वयनमा बाधा अवरोध पुर्याउने कार्य गरेकोमा कारण देखाउ आदेश जारी गरेको छ ।
न्यायाधीश हरिप्रसाद फुयालको इजलासबाट विपक्षीलाई कारण देखाउ आदेश जारी भएको छ । यसकासाथै इजलासले अन्तरिम आदेशका लागि अदालतमा झिकाउने आदेश भएको छ । कानुनी रूपमा गर्न नपाइने भए पनि उद्योग विभागले व्यवसायिक सामाजिक जिम्मेवारीअन्तर्गत विभिन्न सुर्ती उद्योगहरूको खर्च रकम स्वीकृत गर्ने गरेको छ ।
त्यस्तै, पछिल्लो पटक सुर्तीजन्य पदार्थको उत्पादकसँग साझेदारी र सहभागिता गर्न नपाउने बाध्यकारी कानुनी व्यवस्थाविपरीत उद्योग मन्त्रालय र उद्योग विभाग एवं सुर्तीजन्य पदार्थ उत्पादकहरूबीच संयुक्त बैठक भएको रिटमा उल्लेख छ । बैठकपछि सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट र्यापर्स, पेटी तथा पार्सल प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका, २०८१ कार्यान्वयन नगर्न र सुर्ती उद्योग व्यवसायलाई प्रभाव पार्ने गरी कुनै निर्णय नगर्न समेतको निर्णय स्वास्थ्य मन्त्रालयलाई चैत १३ गते पठाइएको थियो ।
बरिष्ठ अधिवक्ता ज्योति बानियाँले उद्योग मन्त्रालय, उद्योग विभाग, औद्योगिक तथा लगानी प्रबद्र्धन बोर्डलगायतलाई विपक्षी बनाउँदै आइतबार रिट निवेदन दायर गरेका थिए । सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट र्यापर्स, पेटी तथा पार्सल प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका, २०८१ को कार्यान्वयनमा बाधा अवरोध पुर्याउने गरी बैठक भएको दाबी रिट निवेदनमा गरिएको छ । बैठकको आधारमा सो निर्देशिका कार्यान्वयन नगर्न तथा कानुन कार्यान्वयनमा अवरोध ल्याउने गरी भए गरेको निर्णय तथा उद्योग मन्त्रालयको पत्र कार्यान्वयन नगर्नु नगराउन र यथास्थितिमा राख्नेगरी परमादेशको माग रिटमा गरिएको छ ।
रिटमा सुर्तीजन्य उद्योगको लोगो, ब्रान्ड आदि ब्रान्ड प्रमोसन, ब्रान्ड स्टिचिङ, ब्रान्ड सेयरिङ, प्रदर्शन, प्रबद्र्धन नगर्नू नगराउनू र सो कार्य नियन्त्रण गर्नू गराउनू भन्ने समेतको आदेश जारी गर्न माग गरिएको छ । सार्वजनिक स्वास्थ्यसम्बन्धी कानुनहरू लागू गर्ने दायित्व प्रदेश सरकारको समेत भएकोले सो सार्वजनिक स्वास्थ्य सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी कानुन तथा कार्यक्रम तर्जुमा गरी लागू गर्नु गराउनु भन्ने समेतको परमादेशलगायत अन्य जो चाहिने आदेश जारी गर्न समेतको माग रिटमा गरिएको छ ।
विश्वभर प्रत्येक वर्ष ८० लाख र नेपालमा ३७ हजारभन्दा बढी व्यक्तिको सुर्तीजन्य पदार्थको सेवनबाट हुने नसर्ने रोगको कारण मृत्यु भइरहेको सरकारी तथ्यांक छ । अहिले चुरोट, सुर्ती, भेप, इलेक्ट्रिक चुरोट, सिगार, पाइप, गुट्खा, पराग, हुक्का आदिको लतमा युवाहरू बढी प्रभावित भइरहेका छन् ।


0 comment