काठमाडौं - विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले सोमबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग महासंघको नेतृत्वमा शिक्षकहरूले माइतिघर–बानेश्वर क्षेत्रमा प्रदर्शनसहित धर्ना दिएका छन् । जसका कारण अनामनगर,थापागाउँ, बानेश्वरलगायत क्षेत्रमा सडक अस्तव्यस्त बनेको छ ।

सडक अवरुद्ध हुँदा दैनिक कार्यालय जाने कर्मचारीसहित स्कुल,कलेजका विद्यार्थीहरूले सास्ती खेप्नु परेको छ । उनीहरूले संघीय संसदबाट ऐन पारित नभएसम्म आन्दोलन नरोकिने भन्दै नाचगानका साथै रचनात्मक कार्यक्रम गर्दै प्रदर्शन गरेका छन् । महासंघले गरेको लगातारको आन्दोलनका कारण बानेश्वर–माइतिघर सडकखण्ड प्रभावित हुँदै आएको छ भने शैक्षिक गतिविधि पनि ठप्प भएको छ । 

चैत २० गतेदेखि देशभरबाट विद्यालयमा ताला नै लगाएर शिक्षक कर्मचारी काठमाडौं आएका छन् । २० दिनदेखि शिक्षक सडकमा छन् । उनीहरू चैत २५ देखि शैक्षिक हड्तालमा छन् । शान्तिपूर्ण रूपमा उनीहरूले आन्दोलन गरिरहे पनि आन्दोलनका दिनदेखि नै काठमाडौंको यातायात प्रभावित छ ।

आन्दोलनको यो अवधिमा विद्यालय खोल्ने,प्रवेश परीक्षा र ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने,उत्तरपुस्तिका परीक्षण गर्ने, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमणलगायतका कुनै पनि क्रियाकलापमा संलग्न नहुन महाससंघले शिक्षकहरूलाई निर्देशन दिएको छ ।

शिक्षक आन्दोलनका कारण कक्षा १२ परीक्षा अन्योलमा परेको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा यही वैशाख ११ गतेदेखि सुरु गर्ने तालिका सार्वजनिक गरिसकेको छ । तर, आन्दोलनरत शिक्षकले कक्षा १२ को परीक्षा सहभागी नहुने बताउँदै आएका छन् ।

शिक्षक महासंघले नै कक्षा १२ को परीक्षामा संलग्न नहुन पनि प्रधानाध्यापक,शिक्षक तथा कर्मचारीलाई आह्वान गरेको छ । जसले गर्दा कक्षा १२ को परीक्षा प्रभावित हुने देखिएको छ ।

वैशाख २ गतेबाट नयाँ भर्ना सुरुवात हुनु प्रणाली रहँदै आएको छ । तर,शिक्षक आन्दोलनका कारण नयाँ भर्ना प्रभावित भएको छ । यसैगरी एसईईको नतिजा प्रकाशनमा पनि ढिलाइको सम्भावना देखिएको छ । एसईईको उत्तरपुस्तिका जाँच गर्ने शिक्षक जति आन्दोलनमा छन् । जसले गर्दा एसईईको नतिजा प्रकाशनमा ढिलाइ हुने सम्भावना बढेर गएको छ ।