काठमाडौं - पाथिभरा मन्दिर दर्शन गर्ने जाने क्रममा आज फुङ्लिङ नगरपालिका–१० तेर्सेको सेवारो चोकमा बोलेरो गाडिको हुडमा तार खसेर करेन्ट लागेर आगलागी हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । 

घाईते ललितपुरकी वर्ष ४५ की सविना आचार्य र उहाँका छोरा अभियम आचार्यलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइएको प्रहरीले जनाएको छ । 

आगोले जलेर सविनाकी छोरी १६ वर्षीया आध्या आचार्य, सविनाको माइततर्फका बुवा झापा भद्रपुर–१५ का ७० वर्षीय विनोद पौडेल, आमा ६९ वर्षीया सरिता पौडेल र गाडी चालक फुङलिङ नगरपालिका–१० फुरुम्बु का ४५ वर्षीय दुर्गा भट्टराईको मृत्यु भएको हो ।

फुङलिङ बजारबाट तीर्थयात्री बोकेर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको जिपमा बिहान ४:५० बजेतिर आगलागी भएको ताप्लेजुङ प्रहरी प्रमुख डीएसपी रवि रावलले जानकारी दिए। उनका अनुसार बिजुलीको पोलबाट लत्रिएको तारले जिपमा छोएर आगलागी भएको प्रारम्भिक अनुमान छ।

गम्भीर अवस्थाकी सविनालाई थप उपचारका लागि काठमाडौं लैजानुपर्ने अवस्था रहेको प्रहरीले जनाएको छ। उनको शरीरको धेरै भाग जलेको छ।

उक्त घटनाप्रति कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दुःख व्यक्त गरेका छन् । घटनामा परेर ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कार्कीले परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन् । 

मुख्यमन्त्री कार्कीले घटनामा घाइते भएकाहरूलाई थप उपचारको लागि काठमाडौं लैजाने प्रयत्न भइरहेको जानकारी दिए । घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न प्रहरी प्रशासनलाई कार्कीले निर्देशन दिएको प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिए ।