इटहरी -धरान उपमहानगरपालिका ६ मा पर्ने पाँचकन्या सामुदायिक वनभित्र हत्या गरेर फ्याँकिएको अवस्थामा शव फेला परेको ३४ बर्षिया चुनकुमारी दाहाल हत्यामा सलग्न ५ जनालाइ प्रहरीले सार्वजनिक गरेको छ भने एकजना फरार रहेको छ।

पक्राउ पर्नेमा धनकुटाको महालक्ष्मी २ बस्ने ३१ वर्षीय प्रेमबहादुर बुढाथोकी (मृतकका श्रीमान), मोरङ पथरीशनिश्चरे ३ संगम चोक बस्ने २९ वर्षीय ढकेन्द्र बुढाथोकी, ढकेन्द्रकी श्रीमती २५ वर्षीया श्रृष्टि बुढाथोकी, पाँचथरको मिक्लाजुङ वडा नं. ७ घर भई हाल मोरङको उर्लाबारी नगरपालिका ५ फागु टोल बस्ने ३६ वर्षीय योगेन्द्र गौतम, योगेन्द्रकी श्रीमती २८ वर्षीया डेनु गौतम र मोरङ पथरीशनिश्चरे ३ बस्ने ४० वर्षीय केशवराज दाहाल रहेका छन्।

इलाका प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी र प्रदेश प्रहरीसहितको टोलीले घटनास्थलबाट विभत्स अवस्थामा हत्या गरिएर फ्यालिएको शव फेला पार्‍यो। शव महिलाको थियो।

मृतक महिलाको कम्मरमुनीको भागमा कपडासमेत नभएको अर्धनग्न अवस्थामा फेला परेपछि घटना थप शंकास्पद र गम्भीर बनेको थियो। अझ मृतकको पहिचान नखुलेका कारण प्रहरीलाई अनुसन्धान अघि बढाउन निकै अप्ठ्यारो परेको थियो। 

घटना भएको तीन दिनपछि  चैत २८ गते मात्रै शवको पहिचान खुलेको थियो। धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. २ घरभइ इटहरी २ बस्दै आएकी ३४ वर्षीया चुनकुमारी दाहालको शव रहेको पुष्टि भएको थियो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक  सुमनकुमार तिम्सिनाका अनुसार घटना शंकास्पद रहेको देखिएपछि अनुसन्धानका लागि कुकुरसहितको टोली परिचालन गरिएको थियो।

‘शवको पहिचान नभएसम्म अनुसन्धान केही नै हुँदैन। तीन दिनपछि पहिचान भएपछि हामीले विभिन्न कोणबाट अनुसन्धान सुरू गरेको र  घटना पारिवारिक विवाद र पारिवारिक असन्तुष्टिबाट जन्मिएको घटना श्रृंखला भएको प्रहरी उपरीक्षक  तिम्सिनाले बताउनु भयो ।

 चुनकुमारीको हत्याको मुख्य योजनाकार उनकै श्रीमान हुन्। दक्षिण कोरियामा बस्दै आएका ३१ वर्षीय प्रेमबहादुर बुढाथोकीको मुख्य योजनामा हत्याको योजना बनाइएको हालसम्मको अनुसन्धानबाट खुलेको सुनसरी जिल्ला प्रहरी प्रमुख तिम्सिनाले बताउनु भयो।

प्रेमबहादुरलाई कोरियाबाट झिकाएर बिहीबार नियन्त्रणमा लिइएको छ। प्रहरीले त्रिभुवन विमानस्थलबाटै पक्राउ गरेर सुनसरी लागि सकेको छ।  प्रेमबहादुर को योजनामा घटना घटाइएको पाइएकोले कोरियाबाट नेपाल  आएका उनलाई काठमाडौँ विमानस्थलबाट पक्राउ गरेको प्रहरीले बताएको छ।

शवको पहिचान भएपछि विभिन्न कोणबाट सबैखाले अनुसन्धान गरिएको सुनसरी  प्रहरी को भनाइ छ।

प्रहरीका अनुसार घटनामा परिवारकै पाँच जना र एक भारतीय नागरिकसहित ६ जना संलग्न छन्। जसमध्ये प्रहरीले पाँचजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ भने भारतीय नागरिक फरार छन्।

जसमध्ये प्रेमबहादुर मुख्य योजनाकार हुन्। ढकेन्द्र सहोदर भाइ हुन् भने योगेन्द्र भने कान्छा ज्वाइँ रहेको प्रहरीको अनुसन्धानबाट खुलेको एसपी तिम्सिना बताउँछन्। अर्का एक भारतीय नागरिक भने फरार रहेकाले उनको खोजी तीव्र पारिएको एसपी तिम्सिनाले जानकारी दिए।

भारतीय नागरिक भारतको आसाम जिल्ला तेजपुर खकन वस्ती बस्ने ३५ वर्षीय राजु थापा मगर रहेका छन्। उनी भने श्रृष्टिका फुपूका छोरा रहेको प्रहरीले जनाएको छ।

प्रेमबहादुर गत मंसिरमा कोरियाबाट आएर माघमा पुनः कोरिया गएका थिए। पछिल्लोपटक प्रेमबहादुर मंसिर २७ गते नेपाल आएका थिए भने माघ ५ गते पुनः कोरिया फर्किएका थिए।

श्रीमान र श्रीमतीबीच पारिवारिक असन्तुष्टि र शंकाले उक्त घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ‘श्रीमान र श्रीमतीबीचको मनमुटाव, श्रीमतीप्रतिको शंका र आर्थिक प्रलोभनका कारण यो घटना भएको देखिन्छ,’ एसपी तिम्सिना भन्छन्, ‘क्रूर यातनासहितको हत्या भएको  निष्कर्ष प्रहरीको छ।’

इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक  प्रकाश जबेगुका अनुसार घटनामा संलग्न ढकेन्द्र, श्रृष्टि, डेनु, र केशवराजलाई चैत २९ गते उनीहरूकै घरबाट पक्राउ गरिएको हो। यसैगरी योगेन्द्रलाई झापाको काँकडभिट्टास्थित भारतसँग सीमा जोडिएको स्थानबाट पक्राउ गरिएको जबेगुले बताए।

उनका अनुसार घटनामा प्रयोग भएको योगेन्द्र गौतमको प्रदेश १–०२–०४३ प ६८६२ नम्बरको मोटरसाइकल एक थान, मधेस प्रदेश ०३–०२६ प ७१४४ नम्बरको मोटरसाइकल एक थान र प्रदेश १–०२–००४४ प १०५९ नम्बरको मोटरसाइकल एक थान गरी तीन थान मोटरसाइकलसमेत बरामद गरिएको छ।

पक्राउ परेका ६ जनामाथि नै जिल्ला अदालत सुनसरीबाट आठ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको उनले जनाए।

‘योजनाबद्ध तरिकाले घटना भएको देखिन्छ,’ उनले भने, ‘पारिवारिक द्धन्द्धले घटना भएको र श्रीमतीप्रति शंकाबाट उब्जिएको परिणाम हो भन्न सकिन्छ।’

खासगरी मृतक चुनकुमारीका श्रीमान प्रेमबहादुरले दक्षिण कोरियामै बसेको अवस्थामा फलाना मानिसलाई भेट्नु भनेर पठाएको र पछि उक्त घटना भएको जबेगुले बताउनु भयो। खासगरी पक्राउ परेका योगेन्द्रले मोटरसाइकलमा राखेर मृतक चुनकुमारीलाई घटनास्थलसम्म पुर्‍याएका थिए।

ज्वाइँ (योगेन्द्र) ले आफन्तकोमा जाने भनेर लैजान्छन्। श्रीमतीको विश्वासिलो पात्र उनी भएकाले कोरियाबाट प्रेमबहादुरले तैँले लिएर गइस् भने हुन्छ भनेर प्रभावमा पारेको देखिन्छ,प्रहरी उपरीक्षक तिम्सिना का अनुसार लैजाने क्रममा जंगल पुगिसकेपछि बाटो अलमलिएँ भनेर बाटो खोज्न भन्दै खोलातिर जान्छन् र त्यही घटना घटाएका थिए।

घटनामा तीनवटा मोटरसाइकल प्रयोग भएको, जसमा एउटा मोटरसाइकलमा योगेन्द्र, बाँकी दुईमा भारतीय नागरिक राजु र मृतकका देवर ढकेन्द्र संलग्न रहेको प्रहरी उपरीक्षक तिम्सिनाले बताउनु भयो।

मुख्यगरी योगेन्द्र र भारतीय नागरिकको संलग्नता देखिएको छ। मृतकका देवर पनि सँगसँगै रहेको अनुसन्धानबाट खुलेको छ। मृतकले बोकेको ब्यागको फिताले बाँधेर हत्या गरिएको खुलेको छ अनुसन्धान बाट खुलेको हो ।

शव अर्धनग्न अवस्थामा भेटिएपनि पोस्टमार्टम रिपोर्टमा भने कुटपिटबाट हत्या भएको देखिएको छ। यद्यपि, प्रहरीले उक्त घटनामा विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ।