पछिल्लो अवस्थालाई हेर्ने हो भने नेपाल प्रहरीको ऐन समयमा नबन्ने हो भने अबको पाँच महिनापछि हुने आइजीमा अघोषित शीतयुद्ध शुरु भइसकेको छ । त्यही बेलाको नेतृत्वलाई लिएर नेपाल प्रहरीमा ठूलै प्रतिस्पर्धा हुनेछ । अहिले प्रहरीमा दुई व्याचको टसल छ । सरकारले पनि यी दुई व्याचको टसललाई लिएर एआइजी बढुवामा एक प्रकारले राजनीति गरिरहेको छ ।
नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षकको ६ दरबन्दी खाली भएको करिब एक महिना मा आज बसेको बढुवा सिफारिस समितिले ६ जना नायब महानिरीक्षकलाई अतिरिक्त महानिरीक्षक पदमा बढुवा सिफारिस गरेको छ । सिफारिसमा पर्ने प्रहरी नायब महानिरीक्षकहरुमा चन्द्र कुबेरखापुङ्ग,
लालमणी आचार्य, कृष्णहरि शर्मा पोखरेल, दान बहादुर कार्कि, राजन अधिकारी, डाक्टर मनोज के.सि रहेका छ्न्।
४ चैत राति १२ बजेबाट एआइजीहरू टेकप्रसाद राई, दुर्गा सिंह, बुद्धिराज गुरुङ, कुवेर कडायत र जनक भट्टराई ३० वर्षे सेवा अवधिका कारण अवकाशमा गएपछि पाँच एआइजीको दरबन्दी खाली भएको थियो भने एआइजी दीपक थापा आइजीमा बढुवा भएपछि अर्को एकगरी रिक्त सख्या ६ सीट पुगेको थियो ।
नेपाल प्रहरीमा अहिले दुई मात्रै एआइजी छन । जसमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा टेकबहादुर तामाङ र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सुदीप गिरी छन् ।
नेपाल प्रहरीमा जनपद समूहतर्फ ८ एआइजीको दरबन्दी छ । तर ६ वटा मुख्य मुख्य विभागनै अहिले प्रमुख विहीन छन् । जसमा, मानव स्रोत विभाग, प्रशासन विभाग, कार्य विभाग, अपराध अनुसन्धान विभाग, प्रदेश समन्वय विभाग र केन्द्रीय अनुसन्धान ब्यूरो रहेको छ ।
एआइजी बढुवाका लागि गृहसचिवको नेतृत्वको बढुवा सिफारिस समिति रहने व्यवस्था छ । प्रहरी नियमावली २०७१ को दफा २७ (१) को (क) अनुसार बढुवा सिफारिस समितिमा गृहसचिवका साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव (सदस्य) र प्रहरी महानिरीक्षक (सदस्यसचिव) रहने व्यवस्था छ ।
अहिले एआइजी बढुवामा ढिलासुस्ती हुनुमा भावी आइजी को हुने भन्ने गहन प्रश्न रहेको छ । विद्यमान प्रहरी नियमावलीअनुसार आगामी १८ भदौ २०८२ को राति १२ बजेबाट आइजी दीपक थापा अनिवार्य अवकाशमा जान्छन् । तर अहिलेको अवस्थामा संसदबाट ऐन पास होस् भन्ने उनी चाहन्छन् । ऐन संसदमा पेश भैसकेको छ । साथै दफावार छलफलका लागि संसदीय समितिमा समेत गइसकेको छ । यस्तो अवस्थामा सरकारले चाहेमा फाष्ट ट्रयाकबाट ऐन पास हुनेछ ।
यदि ऐन पास नभएको अवस्थामा ६ महिनापछि बन्ने आइजीको सम्भावित ढोकासमेत अहिलेको एआइजी बढुवा खोल्नेछ । त्यतिमात्रै होइन, ६ महिनापछि २ महिनाका लागि आइजी बन्ने र त्यसपछिको आइजी को बन्ने भन्नेसम्म अहिलेको बढुवाले धेरै अर्थ लाग्छ ।
उनीहरु २७ कात्तिक २०५२ मा प्रहरी निरीक्षकमा भर्ना भएका टोलीहरु हुन् । एआइजी बढुवाको सिफारिसमा परेका खापुङ र आचार्य २० चैत २०७९ मा डीआइजी बढुवा भएका थिए । शर्मा भने गत जेठमा डीआइजी बनेका थिए । आचार्य भने एआइजीमा बढुवा भए पनि ५६ वर्षे उमेरहदका कारण उनी यसअघि नै अवकाशमा जाने भएकाले उनी आइजीको प्रतिस्पर्धामा रहने छैनन् ।
यो ब्याचका बाँकी दुई जना खापुङ र शर्मा एआइजीमा बढुवा भएको अवस्थामा उनीहरुमध्येबाट एक जना १९ भदौदेखि २६ कात्तिकसम्म दुई महिनाका लागि आइजी बन्ने छ । जसका कारण पनि उनीहरु अहिले जसरी पनि पहिलो नम्बरमै बढुवा हुने लबिइङमा छन् । सिफारिसमा परेका खापुङ र शर्मामध्ये एक जनामात्रै दुई महिनाका लागि आइजी बन्ने पाउने छन ।
४ जेठ २०८१ मा कार्की, केसी र अधिकारी डीआइजी बढुवाका लागि सिफारिस भएका थिए । उनीहरु तीनै जना १८ चैत २०५४ मा प्रहरी निरीक्षकमा भर्ना भएका थिए । त्यतिबेला उनीहरुभन्दा सिनियर ब्याच ५ पुस २०५३ मा प्रहरी निरीक्षकमा भर्ना भएका शाह, राठौर, चतुर्वेदीलगायत बढुवामा छुटेका थिए ।
उनीहरु इन्स्पेक्टरमा एक वर्ष सिनियर र एसपी, एसएसपीमा पनि वरीयतामा अगाडि थिए । २०५३ को यो टोली भने ९ मंसिर २०८१ मा बल्ल डीआइजी बढुवामा सिफारिस भएको थियो ।
२०५३ को टोलीबाट आइजी भएमा ४ पुस २०८३ सम्म नेतृत्वमा रहन्छन् । त्यसपछि २०५४ को टोलीमध्येबाट एक जनाले १७ चैत २०८४ सम्म प्रहरी नेतृत्व सम्हाल्ने मौका पाउँछन् ।


0 comment