काठमाडौं- भक्तपुरको मध्यपुरथिमी नगरपालिका बोडेमा मंगलबार प्राचीन र मौलिक जात्रा ‘जिब्रो छेड्ने जात्रा’ परम्परागत विधिअनुसार धुमधामका मनाइएको छ।
यस वर्ष २८ वर्षीय स्थानीय युवा सुजन बाग श्रेष्ठले तेस्रो पटक जिब्रो छेड्दै जात्रालाई निरन्तरता दिएका हुन्।
उनी यसअघि दुई पटक जिब्रो छेड्ने जात्रामा सहभागी भइसकेका छन्। उनी यस जात्रामा नवौँपटक सहभागी भएका बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा हुन्। बुद्धकृष्णले २०६२ देखि २०६५ सम्म लगातार चार वर्ष र पछि २०७३ सालदेखि फेरि जिम्मेवारी सम्हालेका थिए।
जात्राको दिन बिहानै नाइकेहरूले विभिन्न देवगणको पूजापाठ गरेपछि पाँचो गणेश मन्दिर प्राङ्गणस्थित मञ्चमा करिब ११ इन्च लामो तेलमा डुबाइएको सुइरो प्रयोग गरी सुजनको जिब्रो छेडिएको हो। जिब्रो छेड्नुअघि तीन दिनसम्म उनले शुद्ध भई निराहार व्रत बस्ने परम्परा पूरा गरेका थिए।
बोडेको यो अनौठो र मौलिक परम्परालाई निरन्तरता दिँदै सुजन बाग श्रेष्ठले आफ्नो साहस, विश्वास र संस्कृतिप्रतिको आस्था पुनः प्रमाणित गरेका छन्। यस जात्रालाई जगेर्ना गर्दै स्थानीयहरू प्रत्येक वर्ष नयाँ वर्षको वैशाख २ गते धुमधामका साथ मनाउने गर्छन्।


0 comment