काठमाडौं - अर्घाखाँचीमा आज बिहान जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

जिप मालारानी गाउँपालिका- ३ ढुङ्गाडेस्थित लुटीपोखरी- खनदह भित्री सडकखण्डमा दुर्घटना भएको हो ।

लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको लु २ च २९९० नम्बरको सिङ्गल क्याब जिप अनियन्त्रित भई सडकबाट करिब २५० मिटर तल खसेको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक दिलिप खनाल र बालकृष्ण रिजाललाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएकोमा बिहान ५ ः५५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

अन्य दुई घाइतेलाई थप उपचारका लागि बुटवल रिफर गरिएको प्रहरीले  जनाएको छ ।