काठमाडौं - काठमाडौं उपत्यकाको वायु प्रदूषण झन् झन् बढ्न थालेपछि वातावरणसँग सम्बन्धित पक्षका विज्ञहरुले समयमै रोकथामका लागि उपाय अपनाउनु सुझाव दिएका छन् ।
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले शहरी विकास मन्त्रालयमा बढ्दो वायु प्रदूषणको विषयमा आज गरिएको छलफलमा सम्बन्धित क्षेत्रका प्रतिनिधिहरुले यस्तो सुझाव दिएका हुन् ।
छलफलमा वन मन्त्रालयका सचिव दीपक खरालले प्रदूषण बढ्दै गएकाले हप्ताको दुई दिन बिदा दिनुपर्ने र सवारी जोरबिजोर गरेर चलाउनु पर्नेसम्मको प्रस्ताव गरे। प्रदूषणको प्रमुख कारण सवारी साधन रहेको दाबी गर्दै विज्ञहरुले केहिदिन चाप कम गर्नुपर्ने सुझाव दिए।
राष्ट्रिय यातायात व्यवसायी महासंघले भने प्रदूषण बढ्नुमा निजी मोटर र मोटरसाइकललाई दोष देखाउँछ । त्यसलाई कम गरेर सार्वजनिक सवारी साधनलाई प्राथामिकता दिनुपर्ने महासंघका प्रतिनिधिको जोड छ ।
निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले वायु प्रदूषण हुनुमा सरकारले निर्माण व्यवसायीलाई मात्र दोष दिएर पन्छिन नमिल्ने बताए।
डढेलो विज्ञ शुन्दर शर्माले वातावरण संरक्षणका लागि राष्ट्रिय रणनीति बनाउनु पर्ने सुझाव दिए।
सबैको सुझाव सुनेपछि कार्यवाहक प्रधानमन्त्री सिंहले वायु प्रदूषणका कारण जनजीवन प्रभावित हुँदै गएकोमा चिन्ता व्यक्त गरे। अहिले प्रदूषण बढ्नुको मुख्य कारण डढेले रहेको भन्दै उनले छिटै सरकारले यस विषयमा निर्णय लिने बताए।
छलफललमा वनमन्त्री ऐनबहादुर शाही, वनराज्यमन्त्री रुपा विकलगायतका मन्त्रालय र विभागका कर्मचारी उपस्थित रहेको थियो।


0 comment