काठमाडौं- मकवानपुरको इन्द्रसरोवर गाउँपालिका- ३ सिस्नेरी खोलामा डुबेर ३ जना बालकको मृत्यु भएको छ ।
काभ्रे घर भई सिस्नेरीस्थित मामाघरमा गएका दुई बालक र सिस्नेरी डोडारेका एक बालक गरी ३ जनाको सिस्नेरी बजार पछाडिको खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
सोमबार दिउँसो करिब साढे ४ बजे उनीहरूको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।
इन्द्रसरोवर- ३ सिस्नेरी डोडारेका श्यामबहादुर आचार्यका १४ वर्षीय छोरा सुशान्त आचार्य, काभ्रेको फूलबारी दाप्चा घर भएका १४ वर्षीय प्रमेश घोरासैनी र ११ वर्षीय प्रमाध घोरासैनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घोरासैनी दाजुभाइ हुन् भने आचार्य मामाका छोरा भएको प्रहरीले जनाएको छ । उनीहरू सिस्नेरी खोलाको ढुंगाको ओढारमा जमेको पानीमा घरबाट पौडी खेल्न भनेर गएका थिए ।
मृतक बालकहरूको शव पोस्टमार्टमका लागि पाटन अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।


0 comment