काठमाडौं - नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो सिकार याम सुरु भएको छ ।
दोस्रो याममा १३ नाउर, १० झारल र १२ बँदेल गरी ३५ वन्यजन्तुको शिकार हुने भएको हो । वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले गत माघ १५ गते शिकार गर्नका लागि बोलपत्र आह्वान गरेको थियो ।
दोस्रो याममा सिकार खेल्न हिमालयन वाइल्डलाइफ आउटफिर्टस प्रालि, ट्रयाक्स एण्ड ट्रेल्स प्रालि, हिमालयन सफारिज प्रालि, ग्लोबल सफारिज नेपाल, नेपाल ट्राभल एक्सपिडिसन र ओपन नेपाल वाइल्डलाइफ सफारिज गरी छवटा कम्पनीले अनुमति पाएका छन् । वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागबाट अनुमति पाएका सिकारी ढोरपाटन शिकार आरक्षको विभिन्न ब्लकमा शिकार खेल्न आउन थालेका छन् ।
यही चैत २६ देखि शिकारी ढोरपाटन आउन थालेका ढोरपाटन सिकार आरक्ष कार्यालयका रेन्जर सागर सुवेदीले जानकारी दिनुभयो । दोस्रो याम (फागुन- वैशाख) का लागि आगामी वैशाख १६ गतेसम्म सिकारीले शिकार खेल्न पाउने छन् । अहिलेसम्म दुई नाउर मात्र शिकार भएको उनले बताए ।
रेन्जर सुवेदीका अनुसार हिमालयन वाइल्डलाइफ आउटफिर्टसले शिकारीमार्फत दुई नाउर र दुई बँदेल शिकार गर्न अनुमतिपत्र पाएको छ । यो कम्पनीले एउटा नाउर शिकार गरिसकेको रेन्जर सुवेदीले जानकारी दिए । उक्त नाउरको शिकार सुनदह ब्लकमा स्पेनका ७० वर्षीय मार्कोस ओलाइजोला अल्कोर्टाले गरेका हुन् ।
त्यसैगरी, ट्रयाक्स एण्ड ट्रेल्स प्रालिमार्फत अमेरिकी शिकारीले दुई नाउर, दुई झारल र दुई बँदेल शिकार गर्ने अनुमति पाएका थिए । रेन्जर सुवेदीका अनुसार हिमालयन सफारिज प्रालिमार्फत तीन शिकारीले तीन नाउर र एक झारलका लागि अनमति पाएका छन् । ग्लोबल सफारिज नेपाल प्रालिमार्फत दुई शिकारीले दुई नाउर, एक झारल र दुई बँदेलको शिकार गर्ने अनुमति पाएका छन् ।
नेपाल ट्राभल एक्सपिडिसन प्रालिमार्फत तीन शिकारीले तीन नाउर, तीन झारल र तीन बँदेल शिकार गर्ने अनुमति पाएका छन् । यो कम्पनीबाट आएका शिकारीले हतियारमा समस्या आएपछि शिकार नगरी फर्किएको रेन्जर सुवेदी बताउँछन् ।
ओपन नेपाल वाइल्डलाइफ सफारी एण्ड ट्रेक्स प्रालिमार्फत तीन शिकारीले एक नाउर, दुई झारल र तीन बँदेलको शिकार गर्न अनुमति पाएका छन् । यो शिकार याममा अमेरिका, अर्जेन्टिना, स्पेन र फ्रान्सबाट शिकारी आएको रेन्जर सुवेदीले जानकारी दिनुभयो । उनका अनुसार एउटा झारलको आठ लाख, नाउराको रु ६ लाख २५ हजार पाँच सय तोकिएको छ ।
यसपालि सुनदह, सेङ, भुस्तुङ, दोगाडी, फागुने, बार्से ब्लकमा सिकार भइरहेको ढोरपाटन शिकार आरक्षका प्रमुख संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले बताए ।
दोस्रो याममा एक करोड २६ लाख राजस्व सङ्कलन भएको उनले बताए । शिकारीले मारेको वन्यजन्तु लैजान पनि राजस्व तिर्नुपर्ने प्रावधान छ । ढोरपाटनमा हरेक वर्ष दुई याममा शिकार खुला हुने गरेको छ । पहिलो (असोज- मङ्सिर) र दोस्रो (फागुन-वैशाख) मा शिकार खुला हुन्छ ।


0 comment