काठमाडौं- राजावादीहरुको प्रदर्शनका क्रममा शुक्रबार दुईजनाले अनाहकमै ज्यान गुमाउनुपर्‍यो । जसमा एकजनाको जलेर मृत्यु भयो भने अर्काको गोली लागेर ज्यान गयो ।

ज्यान गुमाउनेमा एकजना प्रदर्शनकारी थिए भने अर्का टीभी पत्रकार थिए । काठमाडौंको तीनकुनेमा दुर्गा प्रसाईं र नवराज सुवेदी नेतृत्वको समूहले गरेको राजावादीहरूको आन्दोलनका क्रममा दुईजनाले अनाहकमै ज्यान गुमाउनुपर्‍यो ।

तीनकुनेस्थित चौरमा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति एवं नागरिक बचाऊ महाअभियानका नामा भएको प्रदर्शनका क्रममा प्रहरीसँग भएको झडपमा कीर्तिपुर नगरपालिका ४, गाम्चाका २९ वर्षीय सविन महर्जनले ज्यान गुमाएका हुन् ।

प्रहरीको गोली लागेको महर्जनको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । अस्पतालका निर्देशक डा. सुवास आचार्यका अनुसार घाइते महर्जनको घाँटीमा गोली लागेको थियो । महर्जनको मृत्युबारे गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सहसचिव छवि रिजालले पनि जानकारी दिए ।

पत्रकार सम्मेलनमा गृह मन्त्रालयका सहसचिव छवि रिजाल ।

यस्तै राजावादीहरुको प्रदर्शनका क्रममा एभिन्युज टेलिभिजनका भिडियो पत्रकार सुरेश रजकले पनि ज्यान गुमाउनुपर्यो । प्रदर्शनकारीहरुले तीनकुनेमा रहेको एक घरमा आगलागी गरेपछि त्यही घरबाटै भिडियो खिचिरहेका रजकको जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

रजकले आगलागीमा परेको घरबाट एभिन्युज टेलिभिजनमा लाइभ गरिरहेका थिए । प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारी गरी २५ भन्दा बढी घाइते भएका छन् ।

प्रदर्शनकारीको आगजनी र तोडफोडबाट करोडौंको क्षति भएको छ ।

प्रदर्शनकारीहरुले सञ्चारगृहलाई पनि तारो बनाए । प्रदर्शनका क्रममा उनीहरुले तीनकुनेमा रहेको कान्तिपुर टेलिभिजनको कार्यालय र अन्नपूर्ण पोस्टको कार्यालयमा आगजनी र तोडफोड गरेका छन् ।

अराजक रुपमा प्रस्तुत भएका प्रदर्शनकारीहरुले तीनकुने क्षेत्रमा रहेका व्यक्तिका घर, पसल तथा सडकमा ट्राफिक प्रहरीका लागि बनाइएको संरचनामा समेत क्षति पुर्‍याएका छन् ।

राजावादी आन्दोलनकारीहरुले कान्तिपुर टेलिभिजनको तीनकुनेमा रहेको कार्यालयको चौथो तलासम्म ढुंगा प्रहार गरी सिसाका झ्याल फुटाएका छन् । कान्तिपुर डेक्समा कार्यरत अमृत दाहालका अनुसार ४ बजेको बुलेटिनका लागि समाचार तयार पारिरहेका बेला ढुंगा, इँटा र बोत्तल प्रहार भएको छ । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘धन्न बचियो आज । ४ बजेको बुलेटिन तयार पारिरहेका बेला कान्तिपुर टेलिभिजनको कार्यालयमा ढुंगा, इँटा र बोतल बज्रिए । ढुंगा कानको छेवैबाट आएर बज्रियो । ढिला गरी सुरक्षाकर्मी आएपछि स्थिति नियन्त्रणमा आयो ।’

कान्तिपुर टेलिभिजनको भवनमा भएको तोडफोड । तस्बिर : अमृत दाहाल

यसैगरी राजावादीहरुले अन्नपूर्ण पोस्टको पहिलो तलामा आगजनीसमेत गरेको अन्नपूर्ण नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले जनाएका छन् । उनले राजावादीहरुको प्रदर्शन र शैलीलाई अराजक भनेका छन् । अन्नपूर्ण पोस्टको कार्यालयमा गरिएको आगजनी त्यहाँका सुरक्षागार्डले निभाएका छन् । साथै प्रदर्शनकारीहरुले ढुंगा प्रहारबाट कार्यालयका सिसा फुटेका छन् ।

अन्नपूर्ण मिडियाको कार्यालयमा भएको तोडफोड । तस्बिर : मनोज बस्नेत

यसैगरी राजावादी प्रदर्शनकारीहरुले कोटेश्वरमा रहेको भाटभटेनीमा पनि तोडफोड गर्नुका साथै त्यहाँभित्रका सामानहरु लुटेर लगेका थिए ।

कोटेश्वरमा रहेको भाटभटेनी स्टोरबाट बियरका बोत्तल लुटेर भाग्दै गरेका राजावादीको प्रदर्शनमा आएका एक युवा । 

यस्तै आलोकनगरमा रहेको नेकपा एकीकृत समाजवादीको कार्यालयमा पनि राजावादीहरुले आगजनी र तोडफोड गरेका छन् ।

साथै जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडमा पनि प्रदर्शनकारीले आगजनी र तोडफोड गरेका छन् । प्रदर्शनकारीहरूले पेरिसडाँडामा रहेको माओवादी केन्द्रको पार्टी कार्यालयमा आक्रमणको प्रयाससमेत गरेका छन् ।

स्थिति नियन्त्रणमा लिन कर्फ्यु
राजावादीहरुले आज गरेको प्रदर्शन अराजक बन्दै गएको छ । व्यक्तिका घर, पसल, सञ्चारगृह तथा सरकारी सम्पत्तिमा आगजनीका घटनाहरू भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा निषेधाज्ञा (कर्फ्यु) जारी गरेको छ । आगजनी, तोडफोड र अराजक प्रदर्शन हुन थालेपछि सुरक्षालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीकाअनुसार शान्तिनगर पुलदेखि जडीबुटी हुँदै मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश जारी गरिएको हो । आदेशअनुसार राति १० बजेसम्म त्यस क्षेत्रभित्र भेला, जुलुस, प्रदर्शन तथा घेराउ जस्ता गतिविधिहरू गर्न पाइने छैन । यस्तै आवतजावत पनि गर्न नपाइने प्रजिअ तिवारीद्वारा जारी सूचनामा उल्लेख छ ।

गृहमन्त्री रमेश लेखक, प्रहरी महानिरीक्षक दीपक थापा, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीसहित गृह मन्त्रालयमा बसेको आकस्मिक बैठकले कर्फ्यु लगाउने निर्णय गरेको हो ।

कर्फ्यु गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वरदेखि शंखमूल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म लगाइएको प्रशासनले जनाएको छ ।

तीनकुने क्षेत्रमा प्रदर्शन उग्र बनेपछि प्रहरीले अश्रुग्यास प्रहार तथा हवाई फायर गर्दै प्रदर्शनकारीलाई तितरबितर पारेको थियो । पछि तीनकुने मैदान खाली गराइएको थियो । स्थिति असहज बन्दै गएपछि तीनकुने क्षेत्रमा सेना परिचालन गर्नुपरेको छ ।

आज (शुक्रबार) काठमाडौंमा राजावादी र गणतन्त्रवादीहरुको प्रदर्शन थियो । राजावादीहरुलाई तीनकुने र गणतन्त्रवादीहरुलाई प्रदर्शनी मार्गमा प्रदर्शनका लागि स्थान छुट्याइएको थियो । गणतन्त्रवादीहरुको प्रदर्शनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दलगायतले भाषण गरे । गणतन्त्रवादीहरुको प्रदर्शन हिंसा र अराजकताविहीन रुपमै सम्पन्न भयो ।

उता तीनकुनेमा राजावादीहरुले गर्ने भनेको प्रदर्शनले पूर्णता पाउन सकेन । उसो त राजावादीहरुको प्रदर्शनका कमान्डर तोकिएका दुर्गा प्रसाईंले कार्यकर्तालाई उचाल्दै निषेधित क्षेत्रमा गाडी कुदाएका थिए । उनले कार्यकर्तालाई उत्तेजित बनाउँदै निषेधित क्षेत्र तोड्न उस्काइरहेका थिए । सुरक्षाकर्मीमाथि आक्रमण गर्न उचालिरहेका थिए । पछि भिड अनियन्त्रित भएपछि सुरक्षाकर्मीले अश्रुग्यास र गोली नै चलाउनुपर्ने अवस्था सिर्जना भएको थियो ।

राजावादीहरुको अराजकता, उदण्ड कार्यशैलीको चौतर्फी आलोचना भइरहेको छ । सामाजिक सञ्जालमा पनि आलोचना भइरहेको छ । राजावादीहरुको प्रदर्शनकै कारण काठमाडौंको जनजीवन अझ विशेषगरी तीनकुने, कोटेश्वरलगायत क्षेत्रको जनजीवन अस्तव्यस्त र त्रसित बन्यो । सूचना संकलनका लागि पुगेका सञ्चारकर्मीहरुलाई पनि राजावादीहरुले दुर्व्यवहार गरेका थिए । 

यो पनि…

राजावादीहरु तीनकुनेको सभा बिथोलेर किन तोडफोड र आगजनीमा उत्रिए ?
पूर्वराजालाई प्रचण्डको चेतावनी- फेरि अर्को गल्ती नगर्नू, गम्भीर परिणाम भोग्नुपर्ला
राजावादीको अराजक प्रदर्शन, राति १० बजेसम्म तीनकुने क्षेत्रमा निषेधाज्ञा
आयोगले भन्यो - राजावादीको प्रदर्शन हिंसात्मक भयो , संलग्नलाई कारबाही गरियोस्
तीनकुनेमा आगजनी गरिएको घरमा जलेर एभिन्युज टीभीका पत्रकारको मृत्यु
राजावादी प्रदर्शनका कमान्डर दुर्गा प्रसाईंलाई पक्राउ गरिँदै
राजावादीको प्रदर्शनमा घाइते युवकको मृत्यु
जनधनको सम्पूर्ण क्षतिको जिम्मा सरकारले नै लिनुपर्छ : रवीन्द्र मिश्र
कान्तिपुर टीभी र अन्नपूर्ण पोस्टको कार्यालयमा राजावादीको तोडफोड र आगजनी
प्रदर्शनीमार्गमा गणतन्त्रवादीको सभा [फोटो फिचर]