काठमाडौं - काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश जारी गरेको हो ।
राजावादी प्रदर्शन उग्र भएपछि काठमाडौं प्रशासनले कर्फ्यु आदेश गरेको हो । कर्फ्यु आदेश जारी गर्नुअघि प्रहरीले माइकिङ गरेको थियो ।

यसैबिच, काठमाडौंको आलोकनगरमा रहेको एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आगजनी भएको छ ।
राजावादी समर्थक प्रदर्शनकारीहरूले समाजवादी पार्टी कार्यालय तोडफोड गर्नुका साथै आगजनी गरेका हुन् ।
यसअघि राजावादी समर्थक प्रदर्शनकारीहरूले तीनकुनेस्थित एक घरमा आगजनी गरेका थिए ।

यसैगरी प्रदर्शनकारीले पेरिसडाँडा नजिक एक सरकारी गाडीमा समेत तोडफोड गर्नुका साथै आगजनी गरेका थिए ।
पेरिसडाँडा क्षेत्र अहिले पनि तनावग्रस्त छ ।
प्रदर्शनकारीहरू पेरिसडाँडामा रहेको नेकपा माओवादी केन्द्रको कार्यालयमा प्रवेशको प्रयास गरिरहेका छन् ।
त्यसैगरी, तीनकुने क्षेत्रबाट लखेटिएका राजावादी समूहका प्रदर्शनकारीहरूले कोटेश्वरस्थित पेरिसडाँडा क्षेत्रका सवारीसाधनमा आगजनी र तोडफोड गरेका छन् ।
एउटा गाडीमा आगजनी र एउटा बाइकमा तोडफोड भएको हो ।
उपत्यकाका विभिन्न क्षेत्रबाट जुलुसहित तीनकुने पुगेका राजावादी समूहका प्रदर्शनकारीहरू उच्छंखल गतिविधिमा उत्रिएपछि अवस्था तनावग्रस्त बनेको थियो । पेरिसडाँडामै एउटा मोटरसाइकलमा पनि तोडफोड भएको छ ।
अवस्था तनावग्रस्त बनेपछि ढुंगामुढा र तोडफोड भएको थियो ।
राजावादी समूहका प्रदर्शनकारीहरू उग्र बन्दै कार्यालय अगाडि आगजनी र तोडफोडमा उत्रिएपछि अहिले प्रहरी तैनाथ गरिएको छ ।
त्यस्तै, कोटेश्वरको भाटभटेनीमा तोडफोड भएको छ ।
राजावादी समूहको प्रदर्शन बिथोलिएपछि तितरवितर भएको समूहले कोटेश्वरको भाटभटेनी सुपरस्टोरमा तोडफोड गरेको भाटभटेनी सुपरस्टोरका सीईओ पानु पौडेलले बताए ।
सो समूहले तीनकुनै नजिकै पर्ने आलोकनगरस्थित एकीकृत समाजवादीको कार्यालयमा आगजनीसमेत गरेको छ ।
आक्रोशित समूहका व्यक्तिहरु कोटेश्वरका गल्ली गल्ली हिँड्दै माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडातर्फ पनि अगाडि बढेका छन् । उनीहरुले कारमा आगजनी र एउटा मोटरसाइकलमा तोडफोड समेत गरेका छन् ।
त्यसैगरी, तीनकुनेस्थित अन्नपूर्ण पोष्टको कार्यालय रहेको भवनमा आगजनीको प्रयास भएको छ ।

राजावादीहरुको प्रदर्शन बिथोलिएपछि उग्र भएको समूहले अन्नपूर्ण पोष्ट दैनिकको कार्यालयमा ढुंगामुढा गरेको थियो । ढुंगामुढाबाट कार्यालयको सिसा फुटेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा एसएसपी विश्वराज अधिकारी अब केहीबेरमा स्थिति नियन्त्रणमा आउने बताएका छन् ।
ठूलो संख्यामा प्रहरी थप पठाइएको र अन्य युनिटबाट समेत थप टोली आएकाले अब स्थिति नियन्त्रणामा आउने बताए ।
राजावादीहरूले गरेको प्रदर्शनमा तीनकुने क्षेत्रमा तनाव भएपछि उनी आफैं पनि खटिएका थिए ।


0 comment