काठमाडौं - हार्ट क्लब नेपालको २७ औँ वार्षिक साधारण सभा हार्ट क्लब नेपालका अध्यक्ष विपिन राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।
उक्त अवसरमा प्रमुख अतिथी वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अवनिभूषण उपाध्यायले सचेतनाको कमीले मुटुरोग विदेशमाभन्दा नेपालमा बढ्दो क्रममा भएको बताए । डा. उपाध्यायबाट सो अवसरमा हृदयको आवाज स्मारिकाको विमोचन गरियो ।
वरिष्ठ मुटुरोग विशषज्ञ डा. प्रकाश राज रेग्मीले रक्सी र औषधिबिचको अन्तर्क्रियाले रक्तचाप बढ्ने, मुटुको धड्कन बढ्ने, हृदयघात र मस्तिष्कघात जस्ता गम्भीर जटिलता हुन सक्ने कुरा बताए ।
हार्ट क्लब नेपालका महासचिव मोहननाथ मास्के र कोषध्यक्ष महेन्द्र बहादुर थापाबाट वार्षिक प्रतिवेदन तथा आय/व्यय प्रस्तुत भयो ।
वरिष्ठ अतिथि नेपाल हार्ट नेटका संयोजक मुटुरोग विशेषज्ञ डा. विजय गोपाल राजवंशीले मुटु कार्यक्रमलाई देशव्यापी रुपमा संचालन गर्नु पर्ने बताए ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठान ललितपुर शाखाका उपसभापति अशोक श्रेष्ठले मुटुरोगको चुनौतीबारे प्रकाश पारे । हार्ट क्लब नेपाल ललितपुर शाखाका सभापति लक्षी सिंहका साथै पदाधिकारीलाई तथा काठमाडौं शाखा, स्वयम्भुका सभापति प्रकाश कुमार श्रेष्ठलाई पनि सदस्यताको प्रमाणपत्र वितरण गरियो ।
हार्ट क्लब नेपालका अध्यक्ष तथा कार्यक्रम सभापति विपिन राईले मुटुरोगको लागि जनचेतनाको प्रभावकारिताका साथै अपरिहार्यता बारेमा जोड दिए । कार्यक्रममा आउँदो २ वर्षका लागि पदाधिकारी र सदस्यहरुको घोषणा गरियो । उक्त अवसरमा रेडियो सगरमाथाका प्रतिनिधि उर्वशी बस्नेत न्यौपानेलाई सम्मान प्रदान गरिएको थियो ।


0 comment