काठमाडौं— चन्द्रागिरि नगरपालिका वडा १० का वडा अध्यक्ष शिव कुमार महर्जनले स्थानीय तहले सक्रियता देखाउदा बालश्रमको निवारण गर्न सकिने बताएका छन् । वडा नं. १० मा बालश्रम प्रयोग भए नभएको अनुगमन गर्ने क्रममा अध्यक्ष महर्जनले सो कुरा बताएका हुन । बालश्रम मुक्त घोषणा गरेको छु भनेर ढुक्क भएर बस्न नहुने समयसमयमा अनुगमन गर्दा उद्योगीहरु पनि सचेत हुने र बालश्रम निवारणमा सहयोग पुग्ने वडा अध्यक्ष महर्जनले बताए ।
बालश्रम मुक्त घोषणा भइसकेको वडा नं. १० मा वडास्तरीय बाल अधिकार समितिको अगुवाईमा अनुगमन गरिएको थियो । चन्द्रागिरि नगरपालिका वडा नं. १० मा विभिन्न उद्योग कारखानामा बालश्रम प्रयोगको अनुगमन नियमित रुपमा हुँदै आएको र यसैको निरन्तरता स्वरुप अनुगमन गरिएको वडा सचिव लक्षमण थापाले बताए । विशेषगरी १४ वर्ष भन्दा कम उमेरका बालबालिकालाई कही कतै कसैले पनि बालश्रम गराउन नपाइने बालश्रम निषेध तथा नियमन गर्ने ऐन २०५६ ले गरेको छ भने १५ देखि १८ वर्ष उमेरका बालबालिकालाई काममा लगाउनु परेमा श्रम कार्यालयको अनुमति लिनुपर्ने हप्तामा ३६ घण्टा भन्दा बढी श्रममा लगाउन नपाइने लगायतका कानुनी व्यवस्था भएको हुनाले बालश्रम प्रयोग कसैले पनि गर्न र गराउन पाइदैन । बालश्रम निवारणका लागि चन्द्रागिरि नगरपालिकाका विभिन्न वडाहरुले निकै सक्रियता देखाइरहेका छन् ।
नगरका धेरै वडाहरु बालश्रम मुक्त वडा घोषणा भइसकेका छन भने बाँकी वडा पनि घोषणा हुने क्रममा छन् ।
अनुगमनमा वडा बालअधिकार समितिका पदाधिकारी, वडा सदस्य, नेपाल प्रहरी, बाल विकास समाज तथा बाल रक्षा अभियान नेपालका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


0 comment