काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीको पद खारेजीसम्बन्धि रिटको सुनुवाइ आज सर्वोच्च अदालतमा हुने भएको छ। सर्वोच्च अदालतका न्यायाधीश डा. कुमार चुडाल र बालकृष्ण ढकालको संयुक्त इजलासमा यो रिटको सुनुवाइ हुने छ।

ललितपुर-३ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएकी डा. कार्कीलाई नेपाल मेडिकल काउन्सिलको सदस्य निर्वाचित भएकी कारण लाभको पदमा बसिरहेको भन्दै  निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको थियो।

यस निर्णयविरुद्ध कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले सुनुवाइ गर्दै, न्यायाधीश कुमार चुडालको एकल इजलासले उम्मेदवारी खारेजको निर्णयलाई बदर गर्दै अन्तरिम आदेश दिएको थियो। आजको सुनुवाइपछि सर्वोच्च अदालतले अन्तिम आदेश जारी गर्ने तयारी गरेको छ। २०७९ मंसिर ४ गते भएको निर्वाचनमा कार्कीले नेपाल मेडिकल काउन्सिलको सदस्यको पदमा बसेर उम्मेदवारी दिएकी थिइन्।