काठमाडौं - मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१- ८२ को पहिलो दुई महिनामा चियाको निर्यात ५२ प्रतिशतले बढेको छ ।

कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउन र भदौमा चार हजार ४१२ मेट्रिक टन चिया निर्यात भएको छ । 

जुन गत आवको सोही अवधिको तुलनामा ५२ प्रतिशतले बढी हो । गत आवको पहिलो दुई महिनामा नेपालबाट दुई हजार ९०२ मेट्रिक टन चिया निर्यात भएको थियो । 

चिया निर्यातको परिणामसँगै यसको मूल्य पनि बढेको छ । चालु आव २०८१- ८२ को दुई महिनामा एक अर्ब १३ करोड ३४ लाख १७ हजार बराबरको निर्यात भएको तथ्याङ्कमा उल्लेख छ ।

जुन गत आव २०८०- ८१ को सोही अवधिको तुलनामा ६२ प्रतिशतले बढी हो । गत आवमा सो अवधिमा रु ६९ करोड ९३ लाख ६४ हजार बराबरको चिया निर्यात गरिएको थियो ।  

दक्षिण भारतमा चिया उत्पादनमा कमी आएसँगै नेपालबाट चियाको निर्यात बढेको नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीले बताउनुभयो ।

भारतबाट अझै माग बढेकाले चियाको निर्यात यो वर्ष थप बढ्ने उहाँको दाबी छ । गत आव २०८०- ८१ मा १३ हजार ४३३ मेट्रिक टन अर्थात् तीन अर्ब १६ करोड ३८ लाख ३६ हजार बराबरको चिया भारत निर्यात भएको थियो । 

जुन अघिल्लो आर्थिक वर्षको तुलनामा सात दशमलव ६८ प्रतिशतले घटेको थियो ।