काठमाडौं - गत जेठदेखि भदौ २५ सम्म मानसरोवर कैलाश धार्मिक यात्राका लागि सात हजार पाच सय २३ जना तिर्थ यात्रुले रसुवागढी मार्गबाट धार्मिक यात्रा गरेका छन् ।
रसुवागढीस्थित अध्यागमन कार्यालय टिमुरेका प्रमुख मुरारी निरौलाले कैलाश यात्रा गर्ने यात्रीमध्ये ६० प्रतिशत नेपाली तथा ४० प्रतिशत अष्ट्रेलिया, अमेरिका, क्यानडा र बेलायत बस्ने गैरआवासीय नेपाली भएको जानकारी दिनुभयो ।
उनीहरूको साथमा करिब दुई सय अन्य देशका पर्यटक समेत मानसरोवर कैलाश गएको अध्यागमन कार्यालयले जनाएको छ ।
धार्मिक यात्रीमध्ये काठमाडौँबाट टिमुरे तथा स्याफ्रुबेंसीका लागि दुई हजार १० यात्री हेलिकप्टरबाट र अन्य यात्री मोटरमार्फत स्थलमार्गबाट रसुवागढी पुगेको रसुवा जिल्ला प्रहरी प्रवक्ता नेत्रप्रसाद पौडेलले जानकारी दिनुभयो ।
मानसरोवर कैलाश यात्राका लागि फाट्टफुट्ट रूपमा जान नपाइने र ट्राभल एजेन्सी मार्फत समूहगत भिसामा मात्र जान पाइने चिनियाँ प्रावधान रहेको बताउँदै अध्यागमन प्रमुख निरौलाले खर्चको हिसाबमा नेपालीका लागि ट्राभल एजेन्सी अनुसार फरक- फरक दररेट पाइएको छ। ने
पालीका लागि कुनै ट्राभल एजेन्सीले एक लाख ३५ हजार र कुनैले एक लाख ७० हजारसम्म लिने गरेको यात्रीले बताएका छन् ।
समुद्र सतहबाट पाँच हजार सात सय मिटरको उचाइमा जानुपर्ने भएका कारण ट्रेकिङ एजेन्सीले ठाउँठाउँमा बास राखी हावापानीको वातावरण मिलाउँदै लाने गरेको र १० दिन अन्तरालमा धार्मिक यात्रा सम्पन्न गराई नेपाल फर्काउने गरेको बताइएको छ ।
यात्री टिमुरे तथा घट्टेखोला क्षेत्रका होटलमा एक रात बस्ने गरेका कारण सीमावर्ती स्थानका होटल तथा लज व्यवसाय चलायमान भएको व्यवसायीले बताएका छन् ।


0 comment