काठमाडौं - नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र सुधार हुँदै गइरहेको बताउनुभएको छ ।

आज नेपाल आर्थिक पत्रकार समाजको २६ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले मौद्रिक तथा वित्तीय सूचकहरू सहज बन्दै गएको बताउनुभएको हो ।

बाह्य क्षेत्र सहज रहेको जनाउदै उहाँले मुद्रास्फीति घटेको र बैङ्क तथा वित्तीय संस्थामा तरलता बढेको उल्लेख गर्नुभएको हो ।

गभर्नर अधिकारी अटोमोबाइल र पुँजीबजार लगायतका क्षेत्र चलायमान हुँदै गएकोले चालु आर्थिक वर्षबाट नयाँ ढङ्गले अर्थतन्त्र चलायमान हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले प्रणालीमा के- के समस्या छ भनेर हेरेर त्यसलाई नीतिगत रुपमा समाधान गर्दै जाने पनि बताउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) लाई संशोधन गर्न बनेको विधेयकमा भएका व्यवस्था निजी क्षेत्रमैत्री नरहेको बताउनुभयो ।

बाफिया विधेयकले बैङ्क तथा वित्तीय संस्थाका संस्थापक लगानीकर्ताले अन्य क्षेत्रमा लगानी गर्न समस्या सिर्जना गर्नसक्ने बताउनुभयो ।