काठमाडौं - ‘एक निर्वाचन क्षेत्र एक उद्योग प्रवर्द्धन सहयोग कार्यक्रम’ अन्तर्गत कैलालीका ३३ उद्योगलाई अनुदान प्रदान गरिएको छ ।
घरेलु तथा साना उद्योग कार्यालयले आर्थिक वर्ष २०८०- ८१ मा जिल्लाका १० निर्वाचन क्षेत्रबाट ती उद्योगलाई छनोट गरी अनुदान प्रदान गरेको हो ।
प्रदेशसभामा १० निर्वाचन क्षेत्र रहेको कैलालीमा ३३ उद्योगलाई छनोट अनुदान दिइएको घरेलु तथा साना उद्योग कार्यालयका लेखा अधिकृत टीकेन्द्र प्रसाद जोशीले बताउनुभयो ।
लामो समयदेखि सञ्चालनमा रहेका उद्योगको स्तरोन्नति गर्न ‘एक निर्वाचन क्षेत्र एक उद्योग प्रवर्द्धन सहयोग कार्यक्रम’ कार्यान्वयनमा ल्याइएको उहाँले बताउनुभयो ।
सुदूरपश्चिम प्रदेश सरकारले कार्यान्वयनमा ल्याएको एक निर्वाचन क्षेत्र एक उद्योग प्रवर्द्धन सहयोग कार्यक्रमका लागि गत आवमा एक करोड ५० लाख बजेट विनियोजन गरिएको थियो ।
घरेलुमा दर्ता भएर सञ्चालनमा रहेका सबै प्रकृतिका उद्योगको स्तरोन्नतिका लागि अनुदानस्वरुप छनोट गरिएका उद्योगलाई तीनदेखि पाँच लाखसम्म अनुदान उपलब्ध गराइएको लेखा अधिकृत जोशीले जानकारी दिनुभयो ।
0 comment