काठमाडौं - वीरगञ्ज भन्सार कार्यालयले दुई वर्षदेखि लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न असफल भएसँगै भन्सार विभागले राजस्व सङ्कलनको लक्ष्य घटाइदिएको छ । 

भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयलाई राजस्व सङ्कलनको महत्वाकाङ्क्षी लक्ष्य दिएपनि कार्यालयले लक्ष्यअनुसारको राजस्व भेट्टाउन सकिरहेको थिएन । विभागले आर्थिक वर्ष २०८०- ८१ को तुलनामा चालु आर्थिक वर्ष २०८१- ८२ मा राजस्व सङ्कलन गर्ने लक्ष्य २६ अर्ब ९२ करोड ८६ लाख ७२ हजारले घटाइदिएको हो ।

विभागले वीरगञ्ज भन्सार कार्यालयलाई आर्थिक वर्ष २०८०- ८१ मा दुई खर्ब ४५ अर्ब ८८ करोड ५० लाख ८२ हजार राजस्व सङ्कलनको लक्ष्य निर्धारण गरेको थियो । तर, कार्यालयले गत आवमा मुस्किलले एक खर्ब ५७ अर्ब ४० करोड ३१ लाख २८ हजार  राजस्व सङ्कलन गरेको थियो । विगतका वर्षमा लक्ष्य र सङ्कलनबीच ठूलो अन्तर देखिएसँगै चालु आवमा राजस्व सङ्कलनको लक्ष्य घटाइएको हो । 

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्णले भन्सार विभागले निर्धारित गरेअनुसारको राजस्व सङ्कलन नभएसँगै राजस्व सङ्कलनको लक्ष्य घटाइएको हुनसक्ने बताउनुभयो ।

सूचना अधिकारी कर्णले विभागले चालु आवमा तोकिएको लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न कार्यालय सक्रिय भएर लाग्ने पनि उल्लेख गर्नुभयो ।