काठमाडौं - अवकाश हुन ३ दिन बाँकी रहँदा बैकुण्ठ अर्याललाई मुख्य सचिवमा नियुक्त गर्नु नै अस्वभावित भएको भन्दै प्रतिनिधि सभामा सांसदहरुले सरकारको निर्णयमा प्रश्न उठाएका छन्।
राप्रपाकी सांसद विना लामाले निलम्बित मुख्य सचिव अर्यालको नियुक्तिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदनमा जवाफ दिनुपर्ने माग गरेकी छन्।
‘अवकाश पाउन तीन दिन बाँकी रहेका व्यक्तिलाई मुख्य सचिव बनाउन राज्यलाई थप आर्थिक दायित्व बोकाउन नेतृत्व गर्ने प्रधानमन्त्रीलाई नैतिक प्रश्न हो कि होइन ?’ उनले प्रश्न गर्दै भनिन्,‘वर्तमान प्रधानमन्त्री नेतृत्वकै सरकारले २०८० असोज १४ गतेसम्म पदावधि भएका तत्कालीन मुख्यसचिव शंकरदास बैरागीलाई हुँदै नभएको दरबन्दी सिर्जना गरेर राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा मन्त्रीसरहको सुविधा पाउने गरी नियुक्त दिएर २०८० असार २ गतेबाट अवकाशमा जान लागेका बैकुण्ठ अर्याललाई २०८० जेठ ३२ गते मुख्य सचिव किन नियुक्त गरियो ?’ तीन दिनमा राज्यलाई के नोक्सान हुने वाला थियो र के फाइदा भयो ?’
अर्यालको नियुक्ति अस्वाभाविक, अनैतिक र शंकास्पद छ भनेर त्यतिबेला धेरैबाट शंकाहरु पनि व्यक्त भएको उनले स्मरण गराइन्। उनले भनिन्,‘यो नियुक्ति अस्वाभाविक, अनैतिक र शंकास्पद छ भनेर त्यतिबेला धेरैबाट शंकाहरु पनि व्यक्त गरेका थिए । सरकारले यतिधेरै महत्व दिएका तीनै मुख्यसचिव अहिले भ्रष्टाचार मुद्दामा निलम्बित छन् ।’
0 comment