काठमाडौं – पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको २७औं महाअधिवेशन प्रारम्भ भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदर्शनी मार्ग स्थित राष्ट्रिय सभा गृहमा महाधिवेशनको एक भव्य समारोह बीच समुद्घाटन गरेका छन् । महाअधिवेशनमा देशभरका विभिन्न शाखाका राष्ट्रिय परिषद् सदस्यहरू तथा उपत्यकामा रहेका पत्रकारहरु सहभागी रहेकाछन्।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले प्रेस जगतको हकहित सम्रक्षण गर्न र पत्रकारिताको प्रवर्धन गर्न सरकारको सक्दो सहयोग रहने विश्वास व्यक्त गरेका छन् । यसअघि विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आजै बिहान महासंघको अगुवाइमा रत्नपार्क स्थित शान्ति बाटिकादेखि समारोह स्थल सभागृहसम्म प्रभातफेरीको आयोजना गरिएको थियो। 

प्रभातफेरीमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल, पदाधिकारी, पूर्वअध्यक्ष, विभिन्न सञ्चारगृहमा आबद्ध पत्रकारहरुको सहभागितारहेको थियो। प्रभातफेरीमा नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन नेपाललगायत संघसंगठनका पदाधिकारी तथा वरिष्ठ पत्रकारहरु समेतको सहभागितारहेको थियो। प्रभातफेरीमा पत्रकारहरुले लाल्टिन बालेर प्रेस स्वतन्त्रता माथी भएको हस्तक्षेपको विरोध गरेका थिए ।