आजको युग कम्प्युटरको युग हो र आज अधिकांश कार्यहरु कम्प्युटरबाट हुने गर्दछन् । अनि समयको प्रवाह सँगसँगै कम्प्युटर झन् झन् शक्तिशाली र अपरिहार्य हुँदै गइरहेको छ ।

कम्प्यूटरले मानव मस्तिष्कको ठाउँ लिन सक्ने नसक्ने, मानिसले झैँ स्वत्तफूर्त रुपमा स्वतन्त्र भएर कम्प्युटरले ब्रम्ह्माण्डको रहस्यहरुको खोज गर्न सक्ने नसक्ने कुराहरु बारे कम्प्यूटर वैज्ञानिक, चिकित्सा वैज्ञानिक, जीववैज्ञानिक तथा मनोवैज्ञानिकहरु बीच बहस चलिरहेको छ ।

मानव मस्तिष्क क्वान्टम मेकानिक्स र गुरुत्वको सिद्धान्तको सङकलन हो र यी सिद्धान्तहरुलाई सम्भवतः युनाइटेड फिल्ड थ्योरीको सहायताले पूर्णतया बुझ्न सकियो भने मस्तिष्कको आन्तरिक संरचना बुझ्न सकिने अनि मस्तिष्कको भित्री संरचना बुझे पछि मस्तिष्कको पुननिर्माण गर्न सकिन्छ भन्ने विचार कतिपय वैज्ञानिकहरुको छ ।

बुद्धि, मानव मस्तिष्क तथा मानव चेतना जस्ता कुराहरु प्रकृतिले दिएको गुह्य रहस्यहरु हुन् । पहिले यी कुराहरुको केन्द्रसम्म पुगेर रहस्यको पाटो उघार्नु पर्दछ । जहाँसम्म कम्प्युटरले मानव मस्तिष्कको ठाउँ लिने कुरा हो, कम्प्युटर मानव मस्तिष्कको उपज हो, नकि मानव मस्तिष्क कम्प्यूटरको । अतः कम्प्युटरभन्दा मानव मस्तिष्कले नै श्रेष्ठता कायम गर्ने कुरा स्वतः सिद्ध छ ।