काठमाडौं – जटामसीको बैज्ञानिक नाम (ल्याटिन नाम) नार्डोस्टाकिस ग्रान्डीफ्लोरा हो । यसको संस्कृत नाम ः तपस्विनी, जटिला, लोमशा, जटामशी (जटामाँसी) हो । यसलाई नेवारीमा नेवारीमा ‘नस्वाँ’ भनेर चिन्दछन् । यो वनस्पति भ्यालेरियानेसी परिवारमा पर्दछ ।
हिमाली भेगका ३,००० देखि ४,५०० मीटरसम्मको उचाईमा ढुङ्गै ढुङ्गा भएको धूपी र हिमाली चिमालको बुटुयानका छेउछाउमा चिसो र ओसिलो ठाउँमा यो विरुवा बाह्रैमास पाइन्छ ।
जमिनभित्र रहने मोटो काण्डलाई राता खैरो झुस, रौं जस्ता जटाहरुले छोपिराखेको हुन्छ । काण्डको लम्बाई ७ से.मि. र चौडाई ३ से.मि. को हुन्छ । यो सुगन्धित हुन्छ । यसको स्वाद तितो र पिरो हुन्छ । यसको पातहरु तलैबाट पल्हाई आएको हुन्छ । यिनको नाम २ से.मि. सम्म चौडा र २० से.मि. सम्म लामो हुन्छ । पातहरु घाँसका पातका आधार तथा भालाका आकार र रौं नभएका हुन्छन् । पातका टुप्पा तिखा हुन्छन् । फुलको एउटै झुप्पा हुन्छ । यो गुलाफी–सेतो रंगको हुन्छ । फूलमा भाले तथा पोथी दुवै योनी पाइन्छन् ।
जरा सहितको काण्डका टुक्राहरुबाट जटामसीका बिरुवा उमारिन्छ । बीउबाट पनि यसको बोटहरु उमार्न सकिन्छ । यसरी उमारिएका बिरुवाहरुलाई मल जल गरी तयार गरिएको बारीमा वा खेतमा सारिन्छ । एक ड्याङ्गमा सारिएका विरुवा आपसमा ३० से.मि. दूरीमा राखिन्छन् र एक ड्याङ्गबाट अर्को ड्याङ्ग ६० से.मि. को फरकमा हुनु पर्दछ । हरेक दुई महिनाको अन्तरमा गोड्नु पर्दछ ।
नेपालको निम्नलिखित जिल्लाहरुमा जटामसीको खेती गर्न सकिन्छ ः ताप्लेजुङ्ग, संखुवासभा, सोलुखुम्बु (खुम्जुङ्ग, दूधकुण्ड, थ्यांगबोचे), गोरखा (खरीबिरे, प्रोक गम्दा, सिर्दिबास), लमजुङ्ग (बहुन डाँडा, चौधखोला, डुलिबेसी), कास्की (गोरुजुरे, माछापुच्छ«े, हिमालफेदी), पर्वत (धानढुङ्ग, जलजल, नागी), बाग्लुङ्ग (तारा खोला, मैकोट), गुल्मी (झुले, खुँजो), मुस्ताङ्ग, म्याग्दी, रोल्पा, दैलेख, जुम्ला, जाजरकोट आदि स्थान ।
हिउँ हटेपछि श्रावणदेखि कार्तिकसम्ममा जमिन विस्तारै खनी बिरुवा पल्हाउने केही भाग त्यही छोडी काण्ड मात्र संकलन गर्नुपर्दछ । यसले गर्दा बिरुवा मासिने डर रहन्न र प्रत्येक दुई वर्षमा यसको काण्ड प्राप्त गर्न सकिन्छ ।
संकलन गरिएको जरा र काण्डहरुबाट माटो राम्ररी झारेर वा बगेको पानीमा पखाली सकेपछि यसमा रहेका गुण, तत्व संरक्षण गरी राख्न हावामा राम्ररी सुकाउनु पर्दछ । त्यसपछि यसलाई बोराहरुमा बाँधेर सुख्खा ठाउँमा राखिन्छ ।
आयुर्वेदिय प्रणाली अनुसार यसको विभिन्न उपयोगिता वर्णन गरिएको छ । यो तागत दिने, उत्तेजना, अपस्मार, मृगी, छारे, हृदय, कम्पा, अजीर्ण तथा वाल सम्बन्धी आन्द्राको बातशुल वा बात विष्फोटन, पेट दुखेको शमन गर्ने, वायु शमन गर्ने, पिशाब गराउने र हैजा तथा रजस्वला गराउने इत्यादिका औषधिहरुमा प्रयोग गरिन्छ । सुगन्धवालको सट्टा पनि यसको प्रयोग गरिन्छ ।
0 comment