काठमाडौं - प्रतिनिधिसभा बैठकबाट आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सरकारले पेश गरेको 'विनियोजन विधेयक' बजेट बहुमतले पारित भएको छ। 

जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्षका लागि १७ खर्ब ९३ करोड ७३ लाखको बजेट पेश गरेका थिए। आज प्रतिनिधिसभा बैठकबाट उक्त बजेट बहुमतले पारित भएको हो। 

नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमतले बजेट सन्तुलित नभएको भन्दै मतदान गरेनन्।

संसदमा बजेट प्रस्तुतअघि नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले अवरोध गरेका थिए। उनीहरूले जिल्ला निर्वाचन कार्यालय विनियोजन विधेयककै अंगका रुपमा समेट्न माग गर्दै संसद अवरोध गरेका थिए। त्यसपछि सो विषयमा सहमति खोज्न सभामुख देवराज घिमिरेले १५ मिनटेका लागि बैठक स्थगित गरेका थिए।

दोस्रो पटक बसेको बैठकमा अर्थमन्त्री महतले बजेट पारित गरियोस् भन्ने प्रस्ताव पेश गरे। एमाले सचेतक महेश बर्तौलाले बजेट पारित गर्नुहुन्न भन्ने पक्षमा धेरै सांसद रहेको भन्दै मत विभाजनको माग गरेपछि सभामुख देवराज घिमिरेले प्रक्रिया अघि बढाएका थिए। त्यसपछि सभामुखले मत विभाजनमा बजेटको पक्षमा १४७ मत र विपक्षमा १०८ मत खसेको घोषणा गरे।

यसअघि सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदहरुले बजेट संशोधन नभए पास हुन नदिने बताउँदै आएका थिए। बजेट संशोधन नभएसम्म मतदान नगर्ने बताउँदै आएको नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले प्रधानमन्त्री र अर्थमन्त्रीसँगको छलफलपछि मतदान गरे।

बजेट पारित गराउन कांग्रेस र नेकपा माओवादी केन्द्रले आफ्ना सांसदहरुलाई ह्विप जारी गरेका थिए। 

प्रतिनिधिसभाबाट बहुमतले पारित भएको बजेट अब राष्ट्रियसभाबाट पनि पारित गर्नुपर्छ। दुवै सदनबाट पारित भएपछि नयाँ आर्थिक वर्षबाट बजेट खर्च गर्न सरकारलाई बाटो खुल्नेछ।