काठमाडौं - भारतको नयाँ संसद् भवनमा ग्रेटर इन्डियाको नक्सा राखिएको केहि दिन नबित्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको छ।
महानगर प्रमुखको सचिवालयका अनुसार मेयरको कार्यकक्ष पुनः सजावट भइरहेको छ। यसैक्रममा पहिलेदेखी नै रहेको दक्षिण एसियाको थ्रिडी नक्सा पुरानो भएपछि सांस्कृतिक नक्साको रूपमा ग्रेटर नेपालको नक्सा राखिएको हो। यो नक्सामा नेपाल–भारत सुगौली सन्धि हुनुपूर्वको नेपालको सिमाना समेटिएको छ जसमा हाल भारत र चीनको अधिनमा रहेका केही स्थानहरू पनि पर्दछन् ।
इतिहास कसैले मेटेर मेट्न नसकिने भन्दै मेयर बालेनले ग्रेटर नेपालको नक्सा राख्न निर्देशन दिएको जनाईएको छ ।
भारतको नयाँ संसद् भवनमा ग्रेटर इन्डियाको नक्सा राखिएपछि नेपालीहरूले असन्तृष्टि जनाउँदै आएका छन्। ग्रेटर इन्डियाको नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु पनि समेटिएपछि नेपालीहरू आक्रोशित भएका थिए।
स्वतन्त्र उम्मेदवारको रूपमा चुनाव जितेर मेयर बनेका बालेनले जनताको संवेदनालाई समेट्न आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेको अनुमान गरिएको छ।
0 comment