काठमाडौं - नेपाल राष्ट्र बैंकले पाँच वित्तीय संस्थालाई कारबाही गरेको छ।
राष्ट्र बैंकको वित्तीय संस्था सुपरीवेक्षण विभागले गैरस्थलगत सुपरीवेक्षणको आधारमा कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र मल्टिपर्पस फाइनान्सलाई कारबाही स्वरूप नगद जरिवाना गरेको हो।
कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम नगरेको भन्दै कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकलाई पाँचौं पटक र सालपा विकास बैंकलाई प्रथम पटक कारबाही गरिएको छ। त्यस्तै, अनिवार्य नगद मौज्दात अनुपात (सीआरआर) कायम नगरेको भन्दै नारायणी डेभपलपेन्ट बैंकलाई पहिलो, दोस्रो र तेस्रोपटक कारबाही गरिएको छ।
राष्ट्र बैंकका अनुसार कर्पोरेट डेभलपमेन्ट बैंकलाई एक लाख ९६ हजार २६५.३० रुपैयाँ, सालपा विकास बैंकलाई एक लाख १० हजार ६६२.२६ रुपैयाँ, नारायणी डेभलपमेन्ट बैंकलाई दुई लाख ५१ हजार ३२४.७३ रुपैयाँ र सप्तकोशी डेभलपमेन्ट बैंकलाई १९ लाख ३६ हजार ६३५.५७ रुपैयाँ नगद जरिवाना गरिएको छ।
त्यस्तै, नारायणी डेभलपमेन्ट बैंकलाई पहिलो पटक ३ हजार ९४८.५३ रुपैयाँ, दोस्रो पटक ६३ हजार ७८२.७८ रुपैयाँ र तेस्रो पटक एक लाख आठ हजार ७७०.२१ रुपैयाँ जरिवाना गरेको राष्ट्र बैंकले जनाएको छ।
त्यस्तै, चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा मल्टिपर्पस फाइनान्सलाई अनिवार्य नगद मौज्दात अनुपात नपुर्याएको भन्दै २ हजार ७०१.०३ रुपैयाँ जरिवाना गरिएको छ।
0 comment