काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इतिहासका कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको फाइल खोल्न आम राजनीतिक दललाई आग्रह गरेका छन्। 

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै ओलीले भने, ‘सरकार भ्रष्टाचार नियन्त्रणको प्रतिवद्धताबाट उम्किन खोजेको जस्तो देखिन्छ। भ्रष्टाचार र अख्तियार दुरुपयोग गरेका इतिहासको कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको फाइल खोलौं। भ्रष्टाचारको फाइल खोलौं। एकपटक इच्छाशक्ति देखाऔं। त्यसलाई साझा इच्छाशक्ति बनाऔं। सबै एकबद्ध हुनुपर्छ। भ्रष्टाचार भ्रष्टाचार नै हो।’

ओलीले सरकार भ्रष्टाचार नियन्त्रणमा कस्सिएझैं गरे पनि भ्रष्टाचार नियन्त्रणमा प्रतिवद्ध नभएको बताए। ओलीले भने, ‘मलाई पत्यार लाग्दैन सरकारले सबै भ्रष्टाचार नियन्त्रण गर्छ। सरकार भ्रष्टाचार नियन्त्रणमा कस्सिए झै गर्छ। सरकार भ्रष्टाचार नियन्त्रणको प्रतिवद्धताबाट उम्किन खोजेको जस्तो देखिन्छ। भ्रष्टाचार र अख्तियार दुरुपयोग गरेका इतिहासको कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको फाइल खोलौं। एकपटक इच्छाशक्ति देखाऔं। त्यसलाई साझा इच्छाशक्ति बनाऔं। सबैले एकबद्ध हुनुपर्छ। भ्रष्टाचार भ्रष्टाचार नै हो।’ 

त्यसैगरी, ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष र तटस्त छानबिनको माग गरेका छन्। 

उनले भने, 'दोषीलाई उम्काउने कोशिस भइरहेको छ। निर्दोषलाई फसाउने प्रयास भइरहेको छ। यो कुरा बन्द गरियोस्। दोषीमाथि कारबाही दृढताका साथ अघि बढाइयोस्।

उनले घटनाको अनुसन्धानमा प्रहरीलाई निष्पक्ष छानबिन गर्न दिनुपर्ने बताए। राजतीनिक अभिष्ट साध्नका लागि निर्दोषलाई फसाउने काम अपराध भएको बताए। नक्कली भुटानी शरणार्थी प्रकरणमा अझैं आगो बल्ने उनको भनाइ छ । ओलीले भने,'आगो लागेपछि छोप्न सकिन्छ तर धूँवा छोप्न सकिदैन।'

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले यसअघि जेठ २९ मा परेको निवेदनमा पक्राउ परेकाहरूलाई किन छोडियो ? भन्दै प्रश्न गरे। उनले भने, 'पुलिसले छोडेको होइन। छोड्न बाध्य बनाइयो। ढाकछोप गर्ने दुष्साहस नगरियोस्।'

ओलीले नक्कली भुटानी शरणार्थी प्रकरण थेग्न नसक्ने भएपछि आफैं बाहिर आएको बताए। ‘गएको जेठमा नै कारबाहीको उजुरी परेको भन्दै किन गुपचुप राखिएको ?’ ओलीले प्रश्न गर्दै भने, ‘भुटानी शरणार्थी प्रकरण आफैं विस्फोट भएर आयो, भुइँचालो आफैं आयो,यो रोक्न सकिदैनथ्यो, छेक्न सकिदैनथ्यो।’

त्यस्तै, ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय दातृ निकायसँगको बैठकमा राजस्व संकलन गर्न कठिनाई भएको भनेकोमा आपत्ति जनाएका छन् । 

ओलीले भने,‘अन्तर्राष्ट्रिय समुदायसँगको बैठकमा प्रधानमन्तीज्यूले राजस्व संकलन कठिनाई भएको भन्न मिल्छ । यो सरकारको नीति तथा कार्यक्रम असफल दस्तावेज हो । सरकार समस्या समाधानका लागि बनेको हो । समस्यालाई दोष लगाएर सरकार उम्कीन मिल्दैन ।’

ओलीले प्रधानमन्त्रीको भारत भ्रमणमा भारतसँग खुलस्त कुरा राख्नुपर्ने बताए । ओलीले भने,‘प्रधानमन्त्रीज्यू केहिदिनमै भारत भ्रमण गर्दै हुनुहुन्छ । भारत मित्र राष्ट्र हो । भारतसँग खुलस्त कुरा राख्नुपर्छ । काँतरमन र चिसोपन राख्नुहुँदैन । आफ्ना इस्सीयू खुलेर राख्नुपर्छ । मित्रसँग मित्रतापूर्ण ढंगले आफ्ना कुरा राख्नुपर्छ । राष्ट्रिय हितका मुद्दामा खुलस्त रुपमा प्रधानमन्त्रीज्यूले राख्नुपर्छ । प्रधानमन्त्रीज्यूले लिम्पीयाधुरा, कालापानी र लिपुलेकबारे खुलेर कुरा राख्नुपर्छ । कालापानी क्षेत्रमा नयाँ संरचना बन्दै गरेको समाचार आइरहेको छ ।’

त्यसैगरी, ओलीले सरकारलाई प्रस्तावित नीति तथा कार्यक्रमले देश र जनताबारे केहि नबोलेको भन्दै नीति तथा कार्यक्रम पुर्नलेखन गर्न सरकारलाई आग्रह गरेका हुन्। 

ओलीले भने,‘एमालेले तपाईहरुलाई सहयोग गर्छ बरु पुनर्लेखनमा तर, प्रस्तावित नीति तथा कार्यक्रममा जनता र देशका समस्याबारे केहि बोलेको देखिएन,फिर्ता लिनुस्।’

ओलीले सरकारमा सहभागि नभएका प्रतिपक्ष दलले नीति तथा कार्यक्रम पास गर्न असहयोग गर्‍यो भन्नुभन्दा सच्चाउन आग्रह गरे।

संघीयतालाई मजबुत बनाइयो भनिएपनि त्यसो नभएको उनले बताए। ओलीले भने, ‘संघियता सबैलाई साथ दिएर हिंड्ने प्रवृत्ति हो। खोइ समन्वय ? राष्ट्रिय समन्वय परिषद्को बैठक नै बसेको छैन।’

ओलीले भने, ‘प्रधानन्यायाधीश चाहियो की चाहियो भनिएको छ। यो २३ महिना संवैधानिक परिषद्को बैठक बोलाइएन। मानौं की एमालेकै कारण प्रधानन्यायाधीश नियुक्ति नभएको भनेर प्रचार गरिएको छ। के यहि हो लोकतन्त्र ? कमजोरी आफूले गर्ने दोष अर्कालाई दिने।’ वैदेशिक सम्बन्धलाई व्यक्तिका हित उपयोग गर्ने साधन बनाउन खोजिएको बताए। 

त्यस्तै, ओलीले अर्थतन्त्र ध्वस्त बनाउनका लागि गठबन्धन बन्नुपरेको थियो भन्दै प्रश्न गरेका छन्। ओलीले गठबन्धन दु:खको कारण भएको बताएका छन् । उनले प्रश्न गर्दै भने, ‘यो गठबन्धन देश र जनताका लागि बनाएको कि देश र जनतालाई कष्ट दिन ?’

ओलीले सरकारको अनिवार्य दायित्वको खर्चसम्म गर्न नसक्ने अवस्थामा पुगेको धारणा राखे। उनले अर्थतन्त्रका सबै सूचक ध्वस्त भइसक्दा पनि सरकार रमिते बनेको आरोप लगाए।

पूर्वप्रधानमन्त्री ओलीले भने, ‘संकट आउँदा पनि सरकार मौन छ। रोम जलिरहेको छ, निरो बाँसुरी बजाएर बसिरहेको छ।’

ओलीले प्रचण्डको नेतृत्वको सरकार पूरै असफल भइसकेको बताए। ओलीले अहिलेको नीति तथा कार्यक्रमले राष्ट्र र जनताका समस्यालाई सम्बोधन गर्न नसक्ने टिप्पणी गरे।