काठमाडौं - नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममाथि २० सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन्। 

नीति तथा कार्यक्रमका विभिन्न बुँदामा २० सांसदबाट संशोधन प्रस्तावसहितको सूचना दर्ता भएको सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकमार्फत् संसद्लाई जानकारी गराएका थिए।

नीति तथा कार्यक्रममा सत्तारुढ दल नेपाली कांग्रेसबाट सांसद श्यामकुमार घिमिरे र दिलेन्द्रप्रसाद बडुले संशोधन प्रस्ताव दर्ता गरेका छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट एकनाथ ढकाल, बासुदेव घिमिरे, सूर्यबहादुर थापा क्षेत्री, नारायणप्रसाद आचार्य, जुलीकुमारी महतो (महासेठ),भगवती चौधरी, ज्वालाकुमारी साह, दयालबहादुर शाही, दामोदर पौडेल वैरागी, महेशकुमार बर्तौला र सूर्यप्रसाद ढकालले संशोधन प्रस्ताव राखेका छन्।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट चन्दा कार्की भण्डारी, सोबिता गौतम र सुमना श्रेष्ठले संशोधन प्रस्ताव दर्ता गराएका छन्।

राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीबाट सांसद प्रेम सुवाल, नागरिक उन्मुक्ति पार्टीबाट गङ्गाराम चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीबाट रामप्रकाश चौधरीले नीति तथा कार्यक्रमका विभिन्न बुँदामाथि संशोधन प्रस्ताव दर्ता गरेको सभामुख घिमिरेले जानकारी दिए।

रास्पार्टीकी सांसद् सोविता गौतमले साँखु र बज्रयोगिनीलाई विश्व सम्पदा सूचीमा सुचिकृतका लागि पहल थाल्न सरकारसँग माग गरेकी छन् । 

गौतमले भनिन्,'सरकारले तिलौराकोट र रामजानकी मन्दिरलाई विश्व सम्पदामा सुचिकृत गर्ने पहल थाल्ने भनेको छ । काठमाडौं- २ मा रहेको साँखु र बज्रयोगिनीलाई विश्व सम्पदा सूचीमा राख्न पहल थालियोस् । ’

गौतमले देश गम्भीर आर्थिक संकटमा परेको बताइन् । गौतमले भनिन्,‘सरकारको नीति तथा कार्यक्रममा धेरै महत्वाकांक्षी कार्यक्रम छन् । नीति तथा कार्यक्रममा पुराना शब्दहरू फेरबदल गर्ने कल्चर नै छ । ’

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारको नीति तथा कार्यक्रममा कालापानीबाट भारतीय सेना हटाइनुपर्ने प्रस्ताव थप गर्न माग गरेका छन् ।

शुक्रबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै केसीले कालापानी छिमेकी देश भारतले जबरजस्ती कब्जा गरेर राखेका कारण कालापानीबाट भारतीय सेना हटाइनुपर्ने बताएका हुन् ।

केसीले भने, ‘संघीयताले मुलुक धान्दैन । संघीयताको भारीले लोकतन्त्र सिध्याउन सक्छ । लोकतन्त्र र गणतन्त्रमाथि प्रतिगमनको खतरा छ । विदेशी शक्तिहरूले गणतन्त्र चाहिँदैन भनेर उचालिरहेका छन् । लोकतन्त्रमाथि बादल मडारिएको छ । यसका विरुद्ध हामी सतर्क हुनुपर्छ । कालापानीबाट भारतीय सेना हटाइनुपर्छ भन्ने शब्द राखियोस् ।’