काठमाडौं - २–० गोलको अग्रता जोगाउन नसक्दा लिग लिडर जावलाखेल युथ क्लब मनाङ मर्स्याङ्दी क्लबसँग २–२ को बराबरीमा रोकिएको छ। 

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज च्यासल रंगशालामा भएको खेलको ३३औं मिनेटमा कोटो मासोयाबीले गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० को अग्रता लिएको जावलाखेलले ७५औं मिनेटमा हिसुब थपलियाको गोलसँगै २–० को अग्रता बनायो।

तर निर्धारित समयको अन्तिम १० मिनेटमा मनाङले दुई गोल फर्काएपछी खेल बराबरीमा रोकियो। मनाङका लागी विशोन गुरुङले ८०औं मिनेटमा र सुमित श्रेष्ठले ९०औं मिनेटमा गोल गरे ।

बराबरीसँगै जावलाखेल १८ खेलबाट ३१ अंकसहित शीर्ष स्थानमा छ। समान खेलबाट २२ अंक जोडेको मनाङ सातौं स्थानमा छ।

आजै एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको अर्को खेलमा  न्युरोड टिम (एनआरटी) र फ्रेन्ड्स क्लबले १–१ गोलको बराबरी खेलेका छन्।

खेलको २८औं मिनेटमा रफिक अमिनुले गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाएका थिए। तर, एनआरटीका निक्लोस सङले ८९औं मिनेटमा गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए । 

बराबरीसँगै एनआरटी १८ खेलबाट २२ अंक जोडेर आठौं स्थानमा छ। समान खेलबाट २० अंक जोडेको फ्रेन्ड्स ११औं स्थानमा छ।