काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष भ्रष्टाचारका पुराना फाइल खोल्न माग गरेका छन्।
शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरवार पुगेका अध्यक्ष लिङदेनले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानलाई गहनरुपमा अघि बढाउन आग्रह गरे। भ्रष्टाचारीको कुनै जात, धर्म, लिंग र पार्टी नहुने भन्दै भ्रष्टाचारका पुराना फाइल खोल्नुपर्ने उनको माग थियो।
‘नक्कली भुटानी शरणार्थीको अनुसन्धान प्रक्रिया रोकिनु हुँदैन । अनुसन्धान अघि बढाए जस्तो गर्ने तर अन्त्यमा फासफुस हुने काम नहोस्,’ ज्ञापन पत्रमा उल्लेख छ।
लिङदेनले नक्कली भुटानी शरणार्थी प्रकरणमा जो कोहि भए पनि उम्कन नहुने बताए । ‘विगतमा भएका भ्रष्टाचारका ठूलाठूला फाइलहरू पनि खोल्नु पर्यो,’ अध्यक्ष लिङदेनले भने, ‘उच्च पदस्थ नेता होउन वा कर्मचारी । जो-जो संलग्न छन् । सबैमाथि छानबिन होस् ।’
नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस केन्द्रीय सदसय एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँडसहित पूर्वगृहमन्त्री रामबहादुर थापा 'बादल'का सुरक्षा सल्लाहकार इन्द्रजित राई,बहालवाला सचिव टेकनारायण पाण्डेसहित १२ जना पक्राउ परिसकेका छन्। पक्राउ पुर्जी जारी भएका एमाले सांसद टोपबहादुर रायमाझी भने अझै फरार छन्।
यस्तै पूर्वगृहमन्त्री बादलको सुरक्षा सल्लाहकार राईका छोरा निरज राई पनि फरार छन्।
0 comment