काठमाडौं - नेपाली कांग्रेसले नेता बालकृष्ण खाँणलाई अदालतको अन्तिम फैसलापछि मात्रै कारबाही गर्ने निष्कर्ष निकालेको छ।

बिहीबार बसेको पदाधिकारी बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेता खाँणले अनुसन्धानलाई सहयोग पुर्‍याएको भन्दै तत्काल कारबाही नगर्ने निष्कर्ष निकालेको सहमहामन्त्री जीवन परियारले बताए।

उनले बैठकमा यस विषयमा सामान्य छलफल भएको र कारबाही गर्ने विषयमा कोसैबीच पनि मतभेद् नभएको बताए। 'सञ्चारमाध्यममा यस विषयमा केही कुरा आयो। तर बैठकमा कुनै पनि मतभेद् भएको छैन। अदालतको फैसलापछि मात्रै के गर्ने विषयमा हामी सबै एकमत छौं,' उनले सञ्चारकर्मीसँग भने।

उनले पक्राउ पर्नेवितिकै कोही पनि दोषी भइनहाल्ने बताउँदै शरणार्थी प्रकरणमा सरकारसँग निष्पक्ष र तटस्ठ छानबिनको माग गरे।

'कुनै पनि मुद्दा वा अनुसन्धानमा पक्राउ पर्नेवितिकै दोषी भन्न मिल्दैन। अभियुक्त हुन्। अदालतको फैसलापछि मात्रै ऊ दोषी हुन्छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले निष्पक्ष र तटस्थ भएर छानिबन गर्नुपर्छ। दोषीलाई कारबाही र निर्दोषलाई पार्नु हुँदैन,' उनले भने।

उनले कांग्रेस दोषीलाई उम्काउने पक्षमा नरहेको स्पष्ट पारे। 'अनुसन्धानलाई सहयोग पुर्‍याउने कुरामा पदाधिकारी एकमत छन्,' उनले भने।

बैठकमा नागरिकता विधेयक, प्रदेश १ को सरकार गठन र भातृसंस्थाहरू विषयमा छलफल भएको सहमहामन्त्री परियारले बताए।