काठमाडौं - जनमत पार्टीका अध्यक्ष सीके राउतले नेपालमा विकासको गलत मोडेल अभ्यास भइरहेको बताएका छन्।
सरकारले प्रस्तुत गरेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि भइरहेको छलफलमा बोल्दै राउतले सरकार ठूल्ठूला भवन, चौडा सडक, विमानस्थललाई विकासको मानक मान्नु गलत रहेको बताए।
उनले एयरट्राफिक नै नपुग्ने विमानस्थल निर्माण गरे पनि तलब नपाएर प्रहरीहरू रुनु परेको बताए। 'हामीले एयर ट्राफिक नै नपुग्ने विमानस्थल बनाइरहेका छौं। तर प्रहरीले तलब नपाएर रुनु परेको छ। स्वास्थ्य सेवा दिन पाइरहेका छैनौं। तर डाँडाडाँडामा भ्युटावर बनाइरहेका छौं। सडकमा प्रतिघन्टा सय वटा गाडी गुड्दैन। तर प्रत्येक सडक चार लेन र छ लेन बनाउनुपर्छ भनेर लहैलहैमा लागेका छौं,' उनले भने।
विकास भनेकै ठूला भवन, फराकिला सडक र विमानस्थल भनेर बुझिदिँदा अर्थतन्त्रको यो हविगत भएको उनको भनाइ छ। उनले विवाहमा दुल्हादुल्हीको मन हेर्नुपर्नेमा हामी भोजभतेरतिर लागेको उदाहरण दिए। 'दुल्हादुल्हीको मन मिल्यो कि मिलेन हेर्नुपर्नेमा हामीले ठूलो तामझाम गर्छौं। ऋणै काढेर सुन किन्छौं। भोजभतेर गर्छौं। हाम्रो अर्थतन्त्र पनि त्यही भएको हो,' उनले भने।
उनले अर्थमन्त्रीलाई आगामी बजेट मानव केन्द्रित बनाउन आग्रह गरे। 'आगामी बजेटले कोही पनि भोकै नहोस्। कोही पनि स्वास्थ्य सेवाबाट वञ्जित नहोस्। कोही पनि सामाजिक सुरक्षाबाट वञ्चित हुन नपरोस्,' उनले भने।
0 comment