काठमाडौं - राष्ट्रियसभा सदस्य वामदेव गौतमले संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रबन्ध गर्न माग गरेका छन् ।

राष्ट्रियसभाको सोमबार बसेको बैठकमा राष्ट्रिय सभा सदस्य गौतमले शासकीय प्रणाली र निर्वाचन प्रणालीमा सुधार नगर्दासम्म कुनै पनि परिवर्तन हुन नसक्ने बताएका हुन् ।

सांसद गौतमले कृषि क्षेत्रको आमूल परिवर्तन नभइकन देशको आर्थिक परिवर्तन र सुधार हुन नसक्ने भएकाले त्यसमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए । बलिदान र त्यागबाट राजनीतिक व्यवस्था परिवर्तन भए पनि खास अर्थमा आर्थिक, सामाजिक अवस्थामा कुनै सुधार नभएकाले त्यसमा ध्यान दिनुपर्ने बताए ।

आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) सम्बन्धमा भएको छलफलमा भाग लिँदै सांसद नरबहादुर विष्टले कृषि क्षेत्रको आधुनिकीकरण नगरिकन रोजगारी र आर्थिक वृद्धिको सम्भावना नभएको बताए ।