काठमाडौं - पोखरामा भोली (शनिबार) हुन लागेको दोस्रो संस्करणको हिमालयन एक्स्ट्रिम ट्रायथलनमा सहभागी हुन २२ देशका ३६ खेलाडी पोखरामा आइपुगेका छन्। 

हिमालयन एक्स्ट्राई नेपालको आयोजना तथा नेपाल ट्रायथलन संघको प्राविधिक सहयोगमा हुन लागेको प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ।  

प्रतियोगितामा सहभागी हुन २२ देशका ३६ खेलाडी र उनीहरूको क्रु मेम्बरसहित ६५ जना पोखरा आइपुगेको हिमालयन एक्स्ट्राई नेपालका रेस डाइरेक्टर रिक्की योन्जनले बताए।

प्रतियोगितामा बेलायत, अमेरिका, अस्ट्रेलिया, नेदरल्याण्ड, ग्रिस, रसिया, चेक रिपब्लिक, इस्टोनिया, बंगलादेश, भारत लगायतका मुलुकहरूका ५ महिलासहित ३१ जना पुरुष गरी कुल ३६ खेलाडीको सहभागिता रहेको योन्जनले जानकारी दिए। 

गत वर्ष चेक रिपब्लिकका पिटर भाव्रोशोक तेश्रो स्थान प्राप्त गरेका थिए। प्रतियोगिता शनिबार फेवातालमा पौडीबाट सुरु हुनेछ। बिहान साढे ३ बजे सहभागीहरू ३.८ किमी पौडीको प्रतिस्पर्धा गर्नेछन्। 

त्यस लगतै १७५ किमि साइकल दौड सुरु हुनेछ। पोखरा लेकसाईडबाट सुरु हुने साइकल दौड सराङकोट–पर्वतको कुस्मा–बागलुङ कालिका हुँदै पुनः फर्किएर कास्कीको काँडेमा पुगेर सम्पन्न हुनेछ। त्यस लगतै ४३ किमी लामो दौड सुरु हुनेछ। 

उक्त दौड काँडे हुँदै ४ हजार मिटरमा रहेको मर्दी हिमाल भ्यू पोइन्टलाई छुँदै माछापुच्छ्रे गाउँ पालिकाको ल्वाङमा पुगेर सम्पन्न हुने रेस डाइरेक्टर योन्जनले बताए। प्रतियोगिता पुरा गर्न करिब १८ देखि २२ घन्टा लाग्न सक्ने आयोजकले अनुमान गरेको छ। 

प्रतियोगिता सम्पन्न गर्न करिब १ करोड खर्च लाग्ने आयोजकले बताएका छन्।  राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटी, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगर पालिका, सिभिक क्लिनिकलगायतले प्रतियोगिता सञ्चालन गर्न सहयोग गरेको बताइएको छ। 

खेल पर्यटनको शहरका रूपमा पोखरालाई चिनाउन प्रतियोगिता महत्वपूर्ण हुने आयोजकको विश्वास छ।