काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मजदुरको हितमा चुप लागेर बस्नु सरकारको गैरजिम्मेवारीपन भएको बताएका छन् । 

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले भने,‘भ्रमबाट देश बन्दैन । भावनाबाट देश बन्दैन । योजनावद्ध ढंगले देश अगाडि बढ्नुपर्छ । देशको अर्थतन्त्र गम्भीर छ । विकास निर्माण त कता हरायो कता हरायो ? सामाजिक कार्य कहाँ हराए कहाँ हराए ? हामी नेपाली जनता यतिबेला गम्भीर हुनुपर्ने अवस्था छ ।’

अहिले चौतर्फी ढंगले अनेक प्रकारका तत्व सलबलाउन थालेको उनको भनाइ छ। ओलीले भने,‘अनुकूल परिस्थिती आयो कि आएन भनेर यसो हेर्न थालेका छन् । अहिलेको सरकार किन मौन बसिरहेको छ ? अचम्म लाग्दो अवस्था छ । सिंहदरबारको फोहोर उठाउन सहरी विकास मन्त्रालयले अर्कैलाई ठेक्का लगाएको छ, फोहोर उठाउन । फोहोरमाथि राजनीति भइरहेको छ । सरकार निरीह छ ,केहि गर्दैन । ’

किसान नेता अनसन बस्दा पनि सरकार चुप लागेर बसेको उनले बताए । ओलीले भने,‘घटिया राजनीतिक स्वार्थ पूर्तिका लागि सबै कुराहरू भइरहेका छन् । मजदुरको हितमा सरकार चुप लागेर बस्नु गैरजिम्मेवारीपन हो । ’