काठमाडौं - आजदेखि हरेक शुक्रबार साँढे १० बजे १० मिनेट अभियान सञ्चालन हुने भएको छ। 

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै डेंगु संक्रमण बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै १० मिनेट अभियान सञ्चालन गर्ने जनाएको हो। 

सबै सरकारी तथा सार्वजनिक कार्यालयहरूले आफ्नो कार्यालय हाताभित्र र वरपर सबै कर्मचारी सहभागी भई सरसफाई अभियान अनिवार्य सञ्चालन गर्न मन्त्रालयले अनुरोध गरेको छ। 

गत वर्षको डेंगु संक्रमण अत्यधिक भएको भन्दै यस वर्ष समयमै सचेतना अपनाउन उक्त अभियान सञ्चालन गर्न सरकारीसँगै निजी, सर्वसाधारण तथा सरोकारवाला सबैलाई अनुरोध गरिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए।