काठमाडौं - प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ- १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले भारी मतले विजयी भएका छन्। 

सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका गोविन्द भट्टराईलाई १४ हजार ७९७ मतले पराजित गर्दै वाग्ले विजयी भएका हुन्। वाग्लेले ३४ हजार ९१९ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी भट्टराईले २० हजार १२२ मत प्राप्त गरे। यसैगरी एमालेका सर्वेन्द्र खनालले ८ हजार ४८८ मत ल्याएर तेस्रो बनेका छन्। 

कूल ६५ हजार ३१६ खसेको मतमध्ये ६४ हजार १३५ मत सदर भएको थियो।

तनहुँ १ बाट निर्वाचित कांग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि त्यहाँ उपनिर्वाचन भएको थियो। तनहुँमा रास्वपा र एमाले एक्ला एक्लै लडेका थिए। उक्त क्षेत्रमा माओवादी, एकीकृत समाजवादी सत्ता गठबन्धनका आवद्ध दल दलले कांग्रेसका भट्टराईलाई समर्थन गरेका थिए।

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचित भएको प्रमाणपत्र लिँदै नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. वाग्लेले तनहुँवासीले गर्व गर्न लायक सांसद बनेर देखाउने प्रतिबद्धता व्यक्त गरे। उनले जिल्लाको विकासका साथै देशका मुद्दा सम्बोधनका लागि आफूले भूमिका खेल्ने उल्लेख गरे। 

तनहुँवासीको विश्वास र भरोसालाई डगमगाउन नदिने बताउँदै डा. वाग्लेले भने, 'जनताका अपेक्षा न्याय गर्नेछु।' उनले जिल्लाका सबै राजनीतिक दलसँग सहकार्य र समन्वय गरेर काम गर्ने बताए। नीति, क्षमता सही भएको खण्डमा देश विकास सम्भव रहेको जनाउँदै सामूहिक प्रयासलाई इमानदारीपूर्वक निभाउने बताए। देश विकास गर्ने हुटहुटीले आफूहरू आएको जनाउँदै उनले भने, 'सबैको सामूहिक प्रयत्नबाट मात्र देश विकास हुन्छ।'

सोही अवसरमा मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले शान्तिपूर्णरूपमा निर्वाचन सम्पन्न गराउन भूमिका खेल्ने सबैप्रति आभार व्यक्त गरे।